जनताको त्याग र बलिदानबाट परिवर्तन सम्भव : अध्यक्ष प्रचण्ड

Published on

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको त्याग र बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाले निर्माण गरेको सहिद शमशेर स्मृति पार्कको उद्घाटन तथा सहिदहरुको शालिक अनावरण गर्नुहुँदै उहाँले नेपालमा भएका हरेक परिवर्तनहरु नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले जनताको धेरै ठुलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधान सभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा समेत जनताको त्याग र बलिदान रहेको बताउनुभयो ।

परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको उहाँको भनाइ छ । उहाँले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठुलो परिवर्तन भएको उल्लेख गर्नुभयो । जनताको बलिदानी कृतिमानको परिणाम देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको भन्दै नेपालको संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौम सम्पन्न जनताको रुपमा स्थापित गरेको हुँदा अहिले सार्वभौम सत्ताको स्रोत नेपाली जनता भएको उहाँको भनाइ छ । संविधानले उच्च सम्मानको स्थानमा नेपाली जनतालाई राखेको हुँदा देशको सम्पूर्ण अधिकारको स्रोत जनता नै भएको वैधानिक रुपमा स्थापित भएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

समावेशी र समानुपातिक रुपबाट जनतालाई प्रतिनिधित्व गराई नेपाल सबैको साझा हो भन्ने संवैधानिक रुपले स्थापित गर्ने काम भएको बताउनुभयो । देशमा भएका हरेक परिवर्तनसँगै जनताको अपेक्षा अनुसार विकास निर्माणका काम हुन नसकेको उहाँको भनाइ छ । गणतन्त्र घोषणा भएदेखि हालसम्म भौतिक पूर्वाधारको क्षेत्रमा आशा लाग्दा काम भएको छ । उहाँले स्वास्थ्यमा विगतभन्दा अहिले धेरै प्रगति भएको तथ्याङ्कमा देखिएको बताउनुभयो । जनतालाई आफ्नो परिवारसँगै बसेर आर्थिक क्रियाकलाप, उत्पादन र उत्पादकत्व वृद्धिमा केन्द्रित हुने वातावरण नबनेको उहाँले बताउनुभयो । युवाहरु विदेश जाने क्रम बढेको हुँदा नेपालको आर्थिक क्रियाकलाप मुख्यतः विदेश गएका नेपाली युवाहरुको रेमिट्यान्सबाट चल्नु निकै नराम्रो भन्दै उहाँले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न राजनैतिक नेतृत्व, स्थानीय तह, प्रदेश र केन्द्र सरकार सबै लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशमा सामाजवाद उन्मुख र आर्थिक आधार निर्माण गरी सबैलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न जरुरी रहेको हुँदा अब आयातभन्दा निर्यात बढाउन उत्पादनमा वृद्धि गर्न स्थानीय तहबाटै लाग्नुपर्ने बताउनुभयो । नेपालमा पछिल्लो समय केही छैन भन्ने भास्य सिर्जना गर्नेहरु देखिएको भन्दै अध्यक्ष प्रचण्डले नेपालमा सबैथोक भएको बताउनुभयो । सबैले देशप्रति सधैँ सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ छ । नेपाली माटोको सहि सदुपयोग गर्न सकिएमा देशबाहिर कोही पनि जान नपर्ने बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गर्दा मिटरब्याज पीडितको पक्ष, रोजगारीका लागि विदेशिएका युवाहरु र स्वदेशमा रोजगार गर्नेलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नका लागि महत्त्वपूर्ण काम गरेको बताउनुभयो । सुशासनको पक्ष र भ्रष्टाचारविरुद्धमा निकै महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयो । भ्रष्टाचारले देशको समग्र संरचना क्षतविक्षत भएको हुँदा त्यसको अन्त्य गरी देशलाई सामाजिक न्यायतर्फ लैजान जोड गरेको बताउनुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक विकास आजको राष्ट्रिय आवश्यकता भएको उहाँको भनाइ छ । धुर्कोट गाउँपालिकाले धुर्कोटमा जन्मनुभई विभिन्न समयमा देशको सामाजिक तथा राजनैतिक परिवर्तनका खातिर लड्दै आफ्नो ज्यानको बलिदान दिई साहदत प्राप्त गर्नुहुने सहिद शमशेरबहादुर खत्री, सहिद खिमविक्रम नेपाली र सहिद जेदुराम भण्डारीको सम्झनामा पार्कसँगै शालिक निर्माण गरी उहाँहरुको शालिक अनावरण गरेको हो ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...