रसुवा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा

Published on

काठमाडौँ । उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको हो । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको ७६ प्रतिशत काम सम्पन्न भएको र आगामी जुलाईभित्र पूर्ण रूपमा सम्पन्न हुने लक्ष्य राखिएको जानकारी दिनुभयो । एउटा गोदामघर, खोलाको पर्खाल निर्माण, सडकमार्ग तयार भइसकेको र प्रशासनिक भवन, एउटा गोदाम, पार्किङ स्थल ढलानको काम भइरहेको गजुरेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम दुई वर्षदेखि नियमित रूपमा भइरहेको समितिले जनाएको छ । आधुनिक प्रविधिसहित निर्माण गरिएको बन्दरगाहभित्र भन्सार चेकजाँच, अध्यागमन, प्रशासनिक कामलगायत सुविधा रहने समितिले जनाएको छ । ३५० गाडी पार्किङको समेत व्यवस्था छ । छिमेकी मुलुक चीनको व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह निर्माणको काम अगाडि बढाएको हो । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । आगामी सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ । रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उहाँको भनाइ छ ।

बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ । बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन रहने छन् । समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् । रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको बिसाखापटनम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी नरेश कटुवालले जानकारी दिनुभयो । रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने उहाँको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ ।

चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ । चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाकाकेन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ । सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ । यसैबिच पछिल्लो समय रसुवा नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारीसाधन आयात हुने गरेका छन् । नेपालबाट जडीबुटी, बाँसका मुढा, मूर्तिलगायतका सामान चीन निर्यात हुने गरेको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...