काठमाडौँ । अपेक्षाकृतरूपमा पर्यटक गाउँमा आउन नसकेको भन्दै क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका बासिन्दा महोत्सव गर्ने तयारीमा जुटेका छन् । दुई वर्षअघि चौधौं महोत्सव गरेका स्थानीयले यसपटक फागुन १८ र १९ मा पन्ध्रौं पसगाउँ महोत्सव गर्ने भएका हुन् । आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्न महोत्सव आयोजना गरिएको पसगाउँ सामुहिक होमस्टेले सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरि जानकारी दिएको छ ।
२०६० सालयता हरेक २ वर्षको फरकमा पसगाउँ मा महोत्सव हुँदै आएको छ । क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पसगाउँ मा आन्तरिक तथा बाह्य पर्यटक बोलाउन महोत्सव गर्न गाउँ हरु जुर्मुराएको बताउनुभयो । प्रकृति र संस्कृतिले धनी पसगाउँमा पर्यटकलाई स्वागत गर्न स्थानीय आतुर रहेको उहाँले बताउनुभयो । “पर्यटक आउँदै नआउने होइनन्, हाम्रो अपेक्षा अलि धेरै संख्यामा आउन् भन्ने हो,” उहाँले भन्नुभयो, “महोत्सवबाट गाउँ चिनाउने र पर्यटक बोलाउने हाम्रो उदेश्य हो ।” गाउँको प्रचार हुन सके पर्यटनबाट सबैले लाभ पाउने उहाँले बताउनुभयो । पसगाउँ मात्रै नभई क्होंम्रेडाँडा, छेदोपुँ र ङ्ह्योजेलगायतमा पर्यटक पुग्दा रमाइलो मान्ने ठाउँहरु रहेको उहाँले प्रस्ट्याउनुभयो ।
स्थानीयले पर्यटन प्रवर्द्धन कार्यक्रम भने २०५८ सालदेखि नै गर्दै आएका थिए । क्व्होलासोंथर ६, पसगाउँका वडाअध्यक्ष मनलाल गुरुङले गाउँमा पर्यटकका लागि २५ घरमा होमस्टे संचालन गरिएकोे बताउनुभयो । महोत्सवमा लोपुन्मुख घाँटु, कृष्णचरित्र, सारंगीनाच, आमा समूह, यूवा समूहको पौराणिक नृत्य लगायत देखाइनेछ । महोत्सवमा अलैंची र चिया बगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगायतका कार्यक्रम राखिएको उहाँले बताउनुभयो । संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले गाउँको प्रचारप्रसार गर्न, होमस्टेमा पर्यटक बसाउन र स्थानीय कला, संस्कार संस्कृति देखाउन महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
ढुंगाका छाना । घुमाउने घर । परम्परागत रहनसहन पसगाउँका विशेषता हुन् । समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिकाको सीमामा पर्छ । यहाँ करिब २ सय ५० घरधुरी छन् । गाउँमा चोबीसै घण्टा बिजुली र पानीको सुविधा छ । बेंसीसहरबाट बागलुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै हिँडेर पसगाउँ पुग्न सकिन्छ । खुदीबाट घलेगाउँ, भुजुङ हुँदै कास्कीको नागिधार, पाखुरीकोट, याङ्जाकोट हुँदै पोखरा निस्कने गुरुङ सम्पदा मार्गको एउटा गन्तव्य पसगाउँ पनि हो । बागलुङपानीबाट छुट्टिएर मालिङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।
तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । यही बाटो अहिले पसगाउँसम्म मोटर पुगेको छ । कास्कीको बेगनासबाट तालबेंसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पसगाउँ जाने बाटा छन् । पोखरादेखि कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट–नागिधार हुँदै पनि पसगाउँ पुग्ने सडक छ । बेंसीसहरबाट ९ कोश टाढा पर्ने पसगाउँ पोखराबाट ४७ किलोमिटरको दुरीमा पर्छ ।