सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनतामा धेरै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै हुने गरेका छन् । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ । सधैँ भेटिने भएकाले जनताले स्थानीय सरकारका हरेक गतिविधि नजिकबाट नियालिरहेका हुन्छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले कार्य गर्न समस्या भइरहेको भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशवसिंह बिष्ट बताउँछन् । आन्तरिक स्रोतको कमी र संघीय सरकारले कम बजेट दिँदा नागरिकका आकांक्षा पूरा गर्न निकै गाह्रो परेकोे बिष्टको अनुभव छ । स्थानीय तह सञ्चालन गर्दा हालसम्मको अनुभव, स्थानीय सरकारको दायित्व, चुनौती र अवसरलगायतका विषयमा केन्द्रित रहेर वडा अध्यक्ष केशवसिंह बिष्ट सँग एएनएनकर्मी अरुण डगौराले गरेको कुराकानीको सम्पादित अंशः
वडाध्यक्षमा निर्वाचित भएपछि के–के गर्नुभएको छ ?
मैले वडा अध्यक्षमा निर्वाचित भए पश्चात् वडाभित्र शिक्षा स्वास्थ्यको क्षेत्रमा थुप्रै कामहरु गरेँ । शिक्षामा भन्नु पर्दा दुईवटा सरकारी स्कुलहरु छन् । एउटा नगरपालिका आधारभूत विद्यालय, वसन्तपुरमा छ भने अर्को सरस्वति उच्च माध्यमिक विद्यालय, पर्खेडीमा छ । ती स्कुलहरुमा पहिलो आर्थिक वर्षमा साइकल स्ट्यान्ड बनाएँ । अनि वडा नं. १६ को नगरपालिका विद्यालयमा केहि फर्निचरहरु बनायौँ र केहि कार्यक्रमहरु गयौँ । साथै पहिलो वर्ष १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि न्यानो लुगा वितरण गर्यौँ । दोस्रो वर्ष झोला सिहत न्यानो लुगा वितरण गर्यौँ । अहिलेको आर्थिक वर्षमा पनि जुत्ता, जुराप, न्यानो लुगासहित वितरण गर्यौँ ।
स्वास्थ्यको क्षेत्रमा सहरी स्वास्थ्य केन्द्र वसन्तपुर निर्माण गर्यौँ । सो केन्द्रमा हामीले ल्याब सञ्चालन गर्यौँ । सो ठाउँमा प्रसुती गृह भएका कारण ल्याब सञ्चालन गर्यौँ । अहिले दैनिक रुपमा २०/२५ जनाले ल्याब सेवा पाइरहेका छन् । त्यसैगरेर गत वर्ष वैशाखमा हामीले भारतीय राजदूतावासबाट एम्बुलेन्स पायौँ । भीमदत्त नगरपालिका वडा नं. १६ सहरी स्वास्थ्य केन्द्रमा हामीले एम्बुलेन्स सञ्चालनका लागि प्रोपोजल हालेका थियौँ । त्यो प्रोपोजलबाट पाएर अहिले एम्बुलेन्स सञ्चालनमा छ ।
अब त्यसै गरेर सिपमुलक आयमुलक कार्यक्रमहरुमा प्रत्येक वर्ष एकल महिला, दलित महिलाहरुका लागि ‘बाख्रा पैँचो कार्यक्रम’ भनेर बाख्रा वितरण गर्ने गरेका छौँ । प्रत्येक वर्ष १०/१२ वटा बाख्रा दिने र पैँचो स्वरुप उनीहरुबाट एउटा पाठो फिर्ता लिने गरेर आयआर्जनका कार्यक्रम सञ्चालन गरेका छौँ ।
त्यसैगरी सिलाईकटाई निरन्तर रुपमा गत वर्ष पनि सञ्चालन गरेको हो । यसपालि पनि निरन्तर रुपमा सञ्चालन गरेका छौँ । कृषिका तालिमहरु पनि सञ्चालन गरेका छौँ । कृषि कार्यक्रम अन्तर्गत हामीले एउटा टनेल बनाएका छौँ । बिरुवा उत्पादन गरेर बिक्री गर्नका लागि टनेलबाट काम सञ्चालन गरेका छौँ । टनेल बनाएर बिरुवा उत्पादन गरेर प्रत्येकको घरदैलोमा दिने हाम्रो लक्ष्य छ । त्यही आधारमा अहिले टनेलमा बिरुवा राख्ने काम भइरहेको छ र बिरुवा उम्री रहेका छन् ।
विभिन्न ठाउँमा होमपाइप र कल्भर्टहरु निर्माण गर्यौँ । गत वर्ष पनि निर्माण भयो । पहिलो वर्ष पनि निर्माण भयो । यसपालि पनि हामीले कल्भर्टहरु निर्माणका लागि योजना बनाएका छौँ । त्यसै गरेर विभिन्न सडकमा ग्राभेल गरिएको छ । २/३ वटा सडकहरुमा पिच गर्ने काम भएको छ । पहिलो वर्ष हामीले मझगाउँ रतन टोल र श्री कृष्णा टोलमा झुलुङ्गे जाने बाटोमा करिब करिब दुई किलोमिटर कालोपत्रे मर्मत र दुई ठाउँमा कल्भर्ट निर्माण गर्यौँ । यसपालि पनि कालो पिचका लागि बजेट छ । त्यसको टेन्डर प्रक्रियामा गइराखेको छ । यस किसिमका कार्यक्रमहरु हामीले निरन्तर रुपमा गरिराखेका हुन्छौँ ।
जनताका समस्याहरु कस्ता खाले हुने गर्दछन्, ती समस्याहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
जनताका समस्याहरु त धेरै छन् । धेरै कुराहरु छन् । रोजगारीका समस्या, ढल निकासका समस्या जस्ता तमात कुराहरु छन् । धेरै समस्याहरुलाई हल गर्न नसकेता पनि आएको बजेटलाई विनियोजन गरेर गर्नै पर्ने ठाउँलाई प्राथमिकतामा राखि काम अगाडि बढाइराखेका हुन्छौँ । अब जनताको इच्छा चाहाना धेरै छ । अपेक्षा धेरै छ । तर त्यती धेरै पूर्ती गर्न सक्ने स्थिति छैन ।
तपाईंलाई आफ्नो कार्यकालभित्र आफ्नो वडाबासीका लागि के गर्न पाइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?
अहिले खास गरेर सडक सुधार र मैले बुझेको आम जनसमुदायलाई केही न केही रोजगारीका अवसरहरु प्रदान गर्न पाइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । विशेषगरी निम्न वर्गीय दलित समुदायलाई रोजगारीको अवसर दिन मिल्दा धन्न हुन्थेँ । उद्योग कलकारखाना स्थापना भएको खण्डमा बेरोजगारीको क्षेत्रमा ठूलो टेवा मिल्ने थियो । बाँकी अब वडा स्तरीय कार्यक्रममा हामीले गर्न सक्ने कामहरुलाई व्यवस्थित तरिकाले गरिराखेका छौँ र आएको बजेटको सदुपयोग गरिरहेका छौँ ।
वडा अध्यक्षको पदमा बसेर काम गर्दा के–के अवसर र चुनौतीहरु आएका छन् ?
अब चुनौतीमा त थुप्रै चुनौतीहरु हुन्छन् । जनताका आकांक्षाहरु धेरै हुन्छन् । जनताका चाहानाहरु धेरै छन् । सबैका चाहानाहरु पुरा गर्नका लागि त जिल्ला, क्षेत्र, प्रदेश, नगरसँग समन्व्य गर्ने काम हामीले गरिराखेका छौँ । धेरै ठुलो चुनौतीका विषयहरुमा यहाँ खास गरेर ढल निकासको चुनौती छ । निकुञ्ज किनारै गाउँ भएको कारण जङ्गली जनावरहरुले सताएका हुन्छन् । अहिलेको हकमा सबैभन्दा बढी जङ्गली जनावरहरुबाट आम जनसमुदाय पिडित छन् । खासगरी हात्तीले र अहिलेको खेतीमा ठुलो क्षति बाँदरहरुले पुर्याएका छन् । बाँदरहरुले ठूलो समस्या खडा गरेका छन् ।
अनि दोस्रो चुनौतीको रुपमा यी छाडा चौपायाहरुको व्यवस्थापनको विषय रहेको छ । जुन यो छाडा चौपाया व्यवस्थापन गर्ने कुरा थियो त्यो हामीले गर्न सकिराखेका छैनौँ । त्यसका लागि ठाउँको व्यवस्थापन गर्न सकेका छैनौँ । त, मैले ठूलो चुनौतीको विषय भन्या यी छाडा चौपायालाई नै लिएको छु । यी गौ–नन्दी व्यवस्थापन गर्नका लागि हामीले धेरै कोसिस गर्यौँ । धेरै सामुदायीक वनहरुमा हामीले अनुरोध गर्यौँ । निकुञ्जलाई पनि अनुरोध गर्यौँ । तर कुनै ठाउँमा पनि त्यस्तो स्थान उपलब्ध गराउन सक्ने स्थिति थिएन । निकुञ्जको क्षेत्रभित्र त्यसको किनारमा हामीले खोर बनाउनलाई तयारी गर्यौँ त निकुञ्जले मेरो कोर एरिया हो मैले दिन मिल्दैन भनेर उहाँले हामीलाई सहमति दिनु भएन । अब वनमा जाउँ भनेपछि वन समितिहरुको मातहतमा वनहरु छन् । तिनीहरुले दिइराखेका छैनन् । त्यसकारण खासगरी छाडा चौपाया ठूलो चुनौतीको विषय मलाई लागेको छ यस क्षेत्रमा ।
आफ्नो वडाका नागरिकबाट कस्तो सहयोग पाउनुभएको छ ?
नागरिकबाट सहयोग मिलेकै छ । अब मलाई त्यस्तो असहयोग पनि कसैले गरेको छैन । ठिकै छ । अब भनेको बेला बोलाएको बेला कार्यक्रममा उपस्थित भइदिन्छन् । कार्यक्रम सञ्चालन गर्न पनि त्यस्तो अप्ठ्यारो छैन । आम जनसमुदायले समर्थन नै दिएर निर्वाचित भइएको हो । ती निर्वाचित साथीहरु सबैलाई समेटेर हामीले काम गरिराखेका छौँ । कुनै दल पार्टी भनेर काममा लागिराखेका छैनौँ । आम जनसमुदायको माग अनुसार आम जनसमुदायको धारा अनुसार हामीले काम अगाडि बढाइराखेका छौँ ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
एकदम धन्यवाद ! छ मलाई यस्तो अवसर दिनुभयो । त्यसका लागि सम्पूर्ण मेरा वडाबासी मेरो दाजुभाइ दिदीबहिनीमा विनम्र अनुरोध तथा सबैलाई धन्यवाद दिन चाहन्छु । मैले आफूले गर्न सक्ने कुरा र आएका योजना, बजेट इत्यादि कुराहरुमा म पारदर्शी रुपमा काम गर्ने छु भन्ने प्रतिबद्धताका साथ सबैलाई मेरो नमस्कार छ ।