सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनतामा धेरै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै हुने गरेका छन् । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ । सधैं भेटिने भएकाले जनताले स्थानीय सरकारका हरेक गतिविधि नजिकबाट नियालिरहेका हुन्छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले कार्य गर्न समस्या भइरहेको पहिलो कार्यकाल सम्हालेका भीमदत्त नगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष जगुराम चौधरी बताउँछन् । आन्तरिक स्रोतको कमी र संघीय सरकारले कम बजेट दिँदा नागरिकका आकांक्षा पूरा गर्न निकै गाह्रो परेको चौधरीको अनुभव छ । स्थानीय तह सञ्चालन गर्दा हालसम्मको अनुभव, स्थानीय सरकारको दायित्व, चुनौती र अवसरलगायतका विषयमा केन्द्रित रहेर वडा अध्यक्ष जगुराम चौधरीसँग एएनएनकर्मी अरुण डगौराले बिच वार्ता गरेको सारः
कार्यभार सम्हालेपछि अहिलेसम्म के–के गर्नुभयो ?
कामहरु त थुप्रै भएको छ । सबै क्षेत्रबाट भएकै छ । स्वास्थ्य, शिक्षा, सडकहरु, कल्भर्टहरु, तटबन्धहरु बनेका छन् । पुलपुलेसाहरु पनि बनेका छन् । खानेपानीको लाइन ४–५ किलोमिटरसम्म बिस्तार हाम्रै पहलमा भएकै हो । स्वास्थ्यतिर पनि काम भएको छ । विद्यालयतिर प्रत्येक वर्ष भवनहरु बनिराखेकै हुन्छन् । कार्यभार सम्हालेको पहिलो वर्ष सिचाईंको लागि आवश्यक बोरिङहरु २४ ओटा कृषि ज्ञान केन्द्रबाट सम्झौता भयो । प्रत्येक वर्ष पर्याप्त मात्रामा लागि ८/१० ओटा बोरिङहरुको काम पनि भैराखेकै छ । यसपालि पनि १० ओटाको सम्झौता नै भइसक्यो ।
मेरो वडामा ३ ओटा सामुदायीक विद्यालयहरु छन्ः लक्ष्मी मावि उल्टाखाम बाघफाँटा, पञ्चकृति मावि बागफाँटा र अर्को सिद्धनाथ आधारभूत विद्यालय बागफाँटा । पैसा थोरै हन्छ । अलिअलि प्रत्येक वर्ष बजेट बिनियोजन गरेकै हुन्छौँ । प्रदेशबाट भवनहरु पनि परेको परेइ हुन्छ । तिनवटै स्कलमा परेकै हुन्छ । अब यसपालि पनि दुइटा स्कुलमा दुई—दुई कोठे भवनहरु परेको छ । गत साल पनि थियो । अनि त्योभन्दा अगाडि पनि परेको थियो ।
तपाईको वडामा स्वास्थ्य सेवा कस्तो छ ?
स्वास्थ्य क्षेत्रतिर पनि काम भएकै छ र हुँदै छ । हामीले गर्नु पर्ने थोरै हुन्छ पैसा । प्रत्येक वर्ष बिनियोजन गरिन्छ । स्वास्थ्य र शिक्षामा त नगरपालिकाबाट पनि बजेट परेकै हुन्छ । माथिल्लो निकायबाट पनि परेकै हुन्छ । यही ०८१ सालको २२ देखि २६ गतेसम्म सबै विद्यालयहरुमा स्वास्थ्यकै हकमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको अभियान चल्यो । अनि छुटफुट भएकालाई सेवा दिनका निमित्त आधारभूत सेवा केन्द्रमा नै व्यवस्था छ । गत माघको २४ गते धनगढी कैलालीको आँखा नेत्रालयसँग समन्व्य गरेर आँखा शिविर नै चलायौँ ।
तपाईको वडामा विकास निर्माणमा कार्यहरु कसरी अगाडि बढिरहेका छन् ?
विकास निर्माणको काम त एकदम तीव्र रुपले चलिराखेको छ । प्रदेश सरकारको गत सालको काम नसकेर १ वर्ष म्याद थपेको अवस्था छ । केही आधा कामहरु रोकिएको अवस्था हो । वडाको त केहि-केहि उपभोक्ताहरुले काम सम्पन्न पनि गरिहाले । केहिलाई भने ग्राभेलिङ टेन्डर गराएको छु । त्यो सुरु गर्ने वाला छन् ।
आफ्नो वडाका जनताबाट कस्तो सहयोग पाउनु भएको छ ?
जनताबाट मैले पूर्ण सहयोग पाइराखेको छु । सबै जनाले आ—आफ्नो तरिका र तर्फबाट एकदमै धेरै सहयोग गरिराख्नुभएको छ । म त महिना महिनामा टोल—टोलमा गएर सरसल्लाह र परामर्श पनि लिन्छु । टोल विकासका अध्यक्षहरुसँग प्रत्येक महिनामा मिटिङ बस्ने एउटा अलग्गै कोठाको व्यवस्था गरेको छु । त्यसैमा सबै कार्यक्रमहरुको बारेमा छलफल पनि गर्छौँ । बरघर/भल्मन्साहरुसँग पनि समन्व्य गर्न सकिन्छ । मसँग ३/४ जना भल्मन्सा मात्र टचमा छन् । बाँकी भने छैनन् । हाम्रो यहाँ ७ ओटा बरघर/भल्मन्साहरु हुनुहुन्छ । सम्पर्कमा नभएकाहरुसँग मिटिङ बस्ने गरिएको छैन । त्यो पहल पनि म मिलाउँछु ।
वडा अध्यक्षको पदमा बसेर काम गर्दा के—कस्ता चुनौतीहरु आएका छन् ?
मलाई खासै अब त्यस्तो चुनौती त केहि छैन । तर मेरो वडा यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मजगाउँ कार्यालयसँग जोडिएको हुनाले वडाभित्रको प्रत्येक घर बफर जोन भित्र पर्ने रहेछ । दुई वर्ष अगाडि टेन्डर गराएको ६ करोडको ढुङ्गाजाली थियो । गोबरैया नालामा जनताहरुको जमिन जोगाउनका लागि त्यो गर्नुपर्ने थियो । ६ करोडको टेन्डर गराई ठेक्का गराइसकेको काम गराउँदै गर्दा जेसिबी र लेबरलाई थुनिदियो । अनि ठेक्का रोकिएर त्यो काम चाहिँ भएन । यसरी काम रोकिएको हुनाले ठुलो चुनौतीको विषय त्यो बनेको छ । अब ६ करोड रुपैयाँको १०५०० घनमिटर ढुङ्गा पर्याप्त रुपमा थियो । अब यो पनि गर्न पाएन भने यो भन्दा ठुलो चुनौती अरु के हुन सक्छ ? फेरी मैले उता पत्रकार महासङ्घको महासचिवलाई बोलाएर मजगाउँ पनि पुगेँ । सडक डिभिजन विभागमा पनि पुगेँ । फेरी पनि त्यो सुचारु भएको छैन । चुनौती भनेको त्यही नै हो । अरु त खासै चुनौतीको रुपमा केही छैन ।
यसपालिको असार २३ र २४ गतेको वर्षातले आतङ्क मच्चाइदिएको छ । उक्त बाढीले एउटा पुल बगाएर लग्यो । त्यो पुलको पहलकदमी गर्दै गर्दा रु २५ लाखमात्र प्रदेश सरकारले बजेट बिनियोजन गरिदियो । त्यो अब पूर्वाधार विकास कार्यालयलाई टेन्डर गराइदिनुस भन्दा ‘‘पैसा अपुग भयो; माथि बजेट थपको कुरो चल्दै छ त्यो भएको छैन ’’ भनेर भन्नुभयो । त्यो बनेन भने चारओटा विद्यालयका विद्यार्थीहरु वर्खायाममा विद्यालय जानबाट बञ्चित हुन्छन् । अहिले त अस्थायी रुपमा वडाले त्यो काम गरिरहेको छ । ठुलो चुनौती भनेका यी दुइटा नै हुन् ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
अब जेठ आउँदै छ । चारजना सदस्यहरु हुनुहुन्छ । सबै जनप्रतिनिधिहरुसँग बसेर भावी योजना बनाउने तयारीमा छौँ । र धेरै धेरै धन्यवाद ! छ हजुरलाई आफ्नो कार्यक्रममा सहभागी गराउनुभयो । साथै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु मेरो वडाबासीलाई । मलाई यसरी नै आगामी दिनहरुमा त्यसैगरी आगामी योजनाहरुमा र कार्यक्रमहरुमा सफल बनाउन र पार्न सहयोग गर्नु होला भन्ने आशा गर्दछु ।