काठमाडौँ । रामेछापमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने चालकहरू प्रहरीको कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गरेको विशेष चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका दुई जना चालकलाई मन्थलीस्थित भैंसेश्वर चोकबाट नियन्त्रणमा लिएको छ । आइतबार मन्थली नगरपालिका–१ स्थित भैँसेश्वरमा गरिएको विशेष चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाइरहेका एक जना र एक जना भ्यान चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप प्रमुख दीपक चौलागाईंले बताउनुभयो ।
मन्थली अस्पतालको प्राविधिक सहयोगमा गरिएको चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा उनीहरुलाई फेला पारिएको उहाँले बताउनुभयो । चेक जाँच गर्दा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको उहाँले बताउनुभयो । “सवारीसाधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य हो, यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्छ”, उहाँले भन्नुभयो । आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा खबर गर्न जिल्ला ट्रापिक प्रहरी कार्यालय रामेछापले आग्रह पनि गरेको छ ।