‘माओवादी युद्धका कारण मुलुक २५ वर्ष पछाडि पर्‍यो’

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी सशस्त्र युद्धका कारण मुलुक २५ वर्ष पछाडि परेको बताउँदै शान्तिको बाटोले मात्र मुलुकको विकास सम्भव भएको बताउनुभएको छ । २६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो । ‘हतियारभन्दा विचार बलियो हो’ भन्ने कुरा माओवादी शान्ति प्रक्रियामा आएपछि पुनः प्रमाणित भएको उहाँले चर्चा गर्नुभयो । तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वको नाममा मुलुकमा हिंसा मच्चाएकाले त्यसको परिणाम अहिले भोगिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

नेकपा ९एमाले० को तत्कालीन रुकुमका सचिव यदुप्रसाद गौतम चुनावी अभियानमा भएका बेला माओवादीले खुकुरीले छप्काएर हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “क्रान्ति अरूको नक्कल गरेर हुने विषय होइन, हिंसाको बाटोबाट सफल नभएपछि माओवादी बाध्य भएर शान्तिको बाटोमा आएको हो । मदन भण्डारीको सिद्धान्त र विचारअनुरूप मुलुकमा परिवर्तन सम्भव भयो ।” कुनै पनि हिंसा र अराजकता रूपान्तरणको बाटो हुनै नसक्ने भन्नुहुँदै मन्त्री गुरुङले शान्तिपूर्ण रूपले क्रान्ति सफल भएपछि माओवादीको हिंसा अन्त्य भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “हिजोसम्म आफ्नो सेना नभएको पार्टी कम्युनिष्ट नै होइन भन्ने माओवादीसँग अहिले सेना कहाँ छ रु के अब ऊ कम्युनिष्ट पार्टी रहेन रु” अहिले माओवादीसँग वैचारिक सिद्धान्त नभएकै कारण अलमलमा रहेको उहाँले बताउनुभयो ।

शान्तिको बाटो नै दीर्घकालीन र परिवर्तनको बाटो भएको चर्चा गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले भन्नुभयो, “हिंसाको बाटो नत्यागेको भए अहिलेसम्म माओवादी समाप्त भइसक्थ्यो, अलिकति बुद्धि लगाएर शान्तिप्रक्रियामा आएर राजनीतिक रूपमा केही प्रगति गरेको हो, तर अब निरन्तर ओरालोमा रहन्छ ।” अहिले न्यूमिडियाको नाममा सामाजिक सञ्जालमा नेपाल र नेपालीविचको सहअस्तित्व र एकता भत्काउने प्रयास भइरहेको भन्दै उहाँले सरकारले त्यसलाई कायम राख्न नियमनका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उहाँले चर्चा गर्नुभयो । मुलुकको लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्यायको सम्मान गर्दै अराजकतालाई नियमन गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको उहाँले प्रष्ट पार्नुभयो ।

लोकतन्त्रमा रचनात्मक आलोचना र सुझाव दिन सबै नागरिकलाई छुट रहने भए पनि अराजकता र अस्थिरता फैलाउने छुट कसैलाई नहुने भन्दै उहाँले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न मात्र खोजेको उहाँले चर्चा गर्नुभयो । सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने मनसाय सरकारको नभएको र त्यस्तो सोच्न पनि नसकिने भन्दै उहाँले सामाजिक सञ्जालमा देखिएका अस्थिरता, अराजकता र विकृतिको नियमनमात्र गर्न खोजिएको बताउनुभयो । एमाले पोलिटव्यूरो सदस्य तथा पुरस्कार सिफारिस समितिका संयोजक सूर्यबहादुर थापाले माओवादीले चालेको तत्कालीन युद्ध हिंसा भएको भन्दै त्यही हिंसाको शिकार यदुप्रसाद गौतमजस्ता होनहार व्यक्तिहरू भएको बताउनुभयो । तत्कालीन माओवादीले २०५५ फागुन २१ गते गौतमको अनाहकमा हत्या गरेको उहाँले चर्चा गर्नुभयो । यदु स्मृति पत्रकारिता पुरस्कारको राशी हरेक वर्ष बढाइने भन्दै उहाँले २३ वर्ष पुगेकाले २३ हजार राशी बनाइएको बताउनुभयो । यो क्रमशः वर्षसँगै पुरस्कारको राशी पनि थपिँदै जाने उहाँको भनाइ छ ।

एमाले पोलिटव्यूरो सदस्य तथा यदुप्रसाद गौतमका समकक्षी खेममान खड्काले रुकुम क्षेत्र २ का उम्मेदवार गौतमलाई तत्कालीन माओवादीले सानो भेरी किनारमा खुकुरीले छप्काएर अमानवीय ढङ्गले हत्या गरेकोमा दुःख व्यक्त गर्नुभयो । तत्कालीन पत्रकार, अधिवक्ता र राजनीतिज्ञ गौतम होनहार व्यक्तित्व भएको चर्चा गर्दै उहाँले माओवादीको तर्फबाट रुकुममा चार सय बढी व्यक्तिको हत्या भएको बताउनुभयो । यदु स्मृति प्रतिष्ठान रुकुमका अध्यक्ष तथा स्वर्गीय गौतमका छोरी सुजाता गौतमले माओवादीले गरेको हत्याले आफूले बुवामात्र नगुमाइ मुलुकले होनहार नेता पनि गुमाएको स्मरण गर्नुभयो । बुवाको हत्या हुँदा आफू ७ वर्षको मात्र रहेको स्मरण गर्दैै उहाँले हिंसाले समाजको रूपान्तरण सम्भव नरहेको कुरा विश्वव्यापी रूपमा पुष्टि भइसकेको बताउनुभयो ।

कार्यक्रममा एमाले नेताहरू सजिता शाक्य, स्वर्गीय गौतमका बुवा उमाकान्त गौतम ९८७०, श्रीमती योगमाया गौतमसहित अन्य नेताहरूको उपस्थिति थियो । सो अवसरमा मन्त्री गुरुङले वरिष्ठ पत्रकार दिलभुषण पाठकलाई यदु स्मृति पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्नुभयो । पुरस्कारको राशी नगद २३ हजार र सम्मानपत्र रहेको छ । यदु स्मृति पत्रकारिता पुरस्कारबाट २३ जना पत्रकार पुरस्कृत भइसक्नुभएको छ । यसअघि सो पुरस्कारबाट सूर्य थापा, ज्ञानेन्द्र खड्का, दुर्गा थापा, गुणराज लुइटेल, काशीराम डाँगी, रुद्र खड्का, रामेश्वर बोहरा, नेत्र केसी, तुलाराम पाण्डे, गंगा बिसी, इन्दिरा अर्याल, रमेश गौतम, बालकुमार नेपाल, दुर्गालाल केसी, भद्र शर्मा, नारायणकुमार शाह, हरिनारायण गौतम, मनिषा केसी, वीरबहादुर गिरी, महेश केसी, लक्की चौधरी, टीका विष्ट पुरस्कृत भइसक्नुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...