यथार्थपरक नयाँ बजेट तर्जुमा गर्न अर्थमन्त्रीको आग्रह

Published on

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेको छ । सोही क्रममा मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बद्ध विभाग र निकायसँग परामर्श गरेको छ । उक्त अवसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट अनुशासित र यथार्थपरक हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । यथार्थपरक बजेट ल्याउँदा आर्थिक वर्षको बिचमा रकमान्तर तथा संशोधनको आवश्यकता नपर्ने र कार्यान्वयन गर्न सहज हुने उहाँको भनाइ छ । मन्त्रालयगत छलफलका क्रममा अर्थमन्त्री पौडेलले बजेट निर्माणमा विगतका अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै, सङ्घीय संरचनालाई ध्यानमा राखी सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय कायम गर्ने गरी बजेट निर्माण गरिने उहाँको भनाइ थियो । बजेट बनाउँदा सबै मन्त्रालय तथा अन्य निकायको सहकार्य आवश्यक पर्ने र बजेटप्रति सबै पक्षको अपनत्व हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विपद्पछिको पुनःनिर्माणलाई प्राथमिकतामा राखी कार्यान्वयनयोग्य, प्रभावकारी र नतिजामुखी बजेट निर्माण गर्ने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटबिच समन्वय मिलाई आगामी आर्थिक वर्षको बजेट तयार गरिनेसमेत उहाँले स्पष्ट पार्नुभयो । कार्यान्वयन गर्न कठिन हुने तथा न्यून प्राथमिकताका आयोजनालाई स्थगन गर्दै व्यवहारिक योजना मात्र समावेश गर्न अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । साना योजना कटौती गर्दै क्रमागत योजनाको सङ्ख्या घटाउनुपर्ने उहाँको सुझाव थियो । साथै, पूर्वतयारी पूरा भएका र अत्यावश्यक आयोजनालाई मात्र समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो । बजेट प्रस्ताव गर्दा सिलिङलाई ध्यानमा राख्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले मन्त्रालयलाई योजनाबद्धरूपमा कार्य गर्नसमेत आग्रह गर्नुभयो । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६५ करोडको सीमाभित्र रहेर बजेट ल्याउन सकिने गरी सरकारलाई सिफारिस गरेको छ । रासस

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...