निसीखोलामा घरबास सञ्चालनको तयारी

Published on

काठमाडौँ । गएको शनिबार बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा बाक्लो हिमपात हुँदा मध्यपहाडी लोकमार्गका धेरै यात्रीले खान बस्ने सुविधा नहुँदा सास्ती खेपेका छन् । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरूले सवारी साधनमा भोकै रात बिताएका छन् । पातिहाल्नेमा जम्मा दुई वटा होटल सञ्चालनमा छन् । ती होटलले यतिधेरै यात्रुलाई सेवा दिन सम्भव थिएन । प्राकृतिमा रमाउन चाहने आन्तरिक पर्यटक दैनिकजसो पातिहाल्नेमा पुग्ने गर्छन् । पातिहाल्ने मात्र होइन, निसीखोलाको ग्रामीण जीवनशैलीलाई नजिकबाट नियाल्न पछिल्लो समय पर्यटक त्यहाँ पुगिरहन्छन् । निसीखोला गाउँपालिकाबिच भाग हुँदै मध्यपहाडी लोकमार्ग बनेपछि झिंवाखोला, निसीगाउँ, अर्नाकोट, भल्कोट लगायतका ठाउँले पर्यटकलाई आकर्षित गरेका छन् ।

सडक सञ्जालसँग जोडिएपछि गुमनामजस्तै रहेको नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन उपत्यकादेखि बुकीको फन्को मार्ने पर्यटकको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । ढोरपाटन पुग्ने पर्यटक चाहेजस्तो सेवासुविधा नपाउँदा बुर्तिवाङ बजार फर्किएर बास बस्नुपर्ने अवस्था छ । निसी र ढोरपाटन पुग्ने पर्यटकलाई सेवा दिनेगरी सो क्षेत्रमा घरबास सञ्चालनको तयारी भइरहेको छ । आरक्ष र पश्चिम बागलुङका पर्यटकीय क्षेत्र पुग्ने पर्यटकका लागि व्यवस्थित होटल तथा रेष्टुराँ नरहेको र एकाद सञ्चालनमा रहेका घरबासले आवश्यकता पूर्ति गर्न नसकेपछि पर्यटन प्रवर्धन परियोजनामार्फत निसी र ढोरपाटन क्षेत्रमा ३० वटा घरबास सञ्चालनको तयारी थालिएको हो । ‘घरबास चलाउन युवाहरूलाई तालिम दिने, घरबासका लागि आवश्यक सामग्री तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने काम सुरु भइसकेको छ’ परियोजना निर्देशक अमर थापाले भन्नुभयो । ढोरपाटन र निसीमा दिगो पर्यटनका लागि चार वर्षसम्म पर्यटन प्रवर्धन परियोजना सञ्चालन हुनेछ । ३० वटा घरबास सञ्चालनको तयारीमा जुटिरहेको परियोजनाले हालसम्म ५ वटालाई सहयोग गरिसकेको छ । परियोजनामार्फत ढोरपाटन र निसीखोलाका १२ विद्यालयमा ई–लाइब्रेरीका लागि ल्यापटप लगायतका सामग्री वितरण गरिएको निर्देशक थापाले जानकारी दिनुभयो ।

‘ढोरपाटन र निसी बागलुङका मुख्य पर्यटकीयस्थल हुन्, त्यहाँ पूर्वाधारको विकास गर्नसके पर्यटनमार्फत आर्थिक समृद्धिमा पुग्न सकिन्छ’ जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भन्नुभयो, ‘ढोरपाटनमा पुग्ने पर्यटकलाई स्थानीय खानाका परिकार र कला तथा संस्कृतिले स्वागत गर्न ढिला गर्नु हुँदैन ।’ दिगो पर्यटन प्रवर्धन कार्यक्रमले ग्रामीण क्षेत्रमा पर्यटक भित्र्याउन र स्थानीयको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने थापाको विश्वास छ । जनैपूर्णिमाको दिन ढोरबाराहीको दर्शन गर्न सबैभन्दा बढी धार्मिक पर्यटक पुग्छन् । त्यहाँ पर्याप्त होटल नहुँदा धेरै जना बोबाङ र बुर्तिवाङ बजारमा झरेर रात बिताउँछन् । आरक्षका अनुसार आर्थिक वर्ष २०७९–८० को तुलनामा आर्थिक वर्ष २०८०–८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ । २०७९–८० मा पर्यटक प्रवेश शुल्कबाट नौ लाख ८३ हजार २ सय रुपियाँ राजस्व सङ्कलन भएको थियो भने २०८०–८१ मा १९ लाख ३३ हजार सातसय रुपियाँ सङ्कलन भएको छ ।

spot_img

ताजा समाचार

सुर्खेतमा एलपी ग्यास अभावले उपभोक्ता सास्तीमा

सुर्खेतमा पछिल्लो एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले घण्टौँदेखि दिनौँसम्म लाइन...

प्रश्न सोध्ने व्यक्तिलाई रास्वपा सांसद केपी खनालको धम्की

कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा रास्वपा सांसद केपी खनालले एक प्रश्नकर्तालाई धम्कीपूर्ण अभिव्यक्ति...

अमेरिका–इरान तनावमा कमी, तेलको मूल्य घट्यो

अमेरिका र इरानबीच पाँच महिनादेखि जारी सैन्य तनाव केही कम भएको संकेत देखिएको छ।...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, नेपाल–जापान सहकार्यको नयाँ अध्याय

बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका नेपालस्थित...