लोकतन्त्रको विकल्प लोकतन्त्र हो : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएकाले राजतन्त्र फर्किन नसक्ने दाबी गर्नुभएको छ। शुक्रबार बझाङमा भूकम्पीय पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले सो कुरा बताउनु भएको हो। “लोकतन्त्रको कुनै विकल्प हुँदैन”, उहाँले भन्नुभयो, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो। यदि हामीले तानाशाही, निरङ्कुश व्यवस्था रोज्यौ भने त्यो देश र जनताको हितमा हुन सक्दैन।”

पछिल्ला केही गतिविधितर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “आजभोली मैले केही आवाज सुनिरहेको छु। राजतन्त्र आउने, राजा फर्किने कुरा सुनिरहेको छु। म, के आग्रह गर्न चाहन्छु भने, समाज उल्टो बाटोमा हिँड्दैन। समाज अघि बढिसकेको छ। हामी लोकतान्त्रिक पद्धतिमा गइसकेका छौं। देश समावेशी बाटोमा अघि बढिसकेको छ।” उहाँले अगाडि भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी चरित्रको राज्य व्यवस्था स्थापना गर्ने उद्देश्यमा हामी अघि बढिसकेका छौँ। त्यसैले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो। गणतन्त्र, सङ्घीयता र समावेसीलाई अझै सुदृढ गर्दै नेपाल अघि बढ्छ।” देशको वर्तमान अवस्थाले दुई ठुला राजनीतिक दल एक ठाउँमा उभिएकाले न्याय, सुशासन, दिगो शान्ति र समृद्धिका लागि वर्तमान सरकार अघि बढिरहेको दाबी गर्नुभयो।

भूकम्प पीडितलाई तीन महिनामै घर

यसैबिच गृहमन्त्री लेखकले भूकम्प पीडितका निजी घर तीन महिनाभित्रै पुर्नर्निमाण गर्ने गरि काम गर्न पनि निर्देशन दिनुभयो। उहाँले भन्नुभयो,“बजेटको कमी हुँदैन। तीन महिनाभित्र घर निर्माण गरेर भूकम्प पीडितलाई हस्तान्तरण गर्ने काम गर्नुहोस्। सामान्यतया ढुङ्गा माटोको घर बनाउनन ४५ दिन लाग्ने कुरा प्राविधिले मलाई बताउनु भएको छ। त्यो भन्दा बलियो घर बनाउन तीन महिनाभन्दा बढी समय लाग्दैन।” परिणाममुखी काम गर्न जोड दिनुपर्ने उहाँको भनाइ छ। स्थानीय तहका जनप्रतिनिधिले चाँडोभन्दा चाँडो लाभग्राहीको पहिचान गर्नुपर्ने उहाँले बताउनुभयो। गृहमन्त्री लेखकले छिटो काम सम्पन्न गर्न सञ्चारकर्मीले समेत निगरानी गरेर कमीकमजोरी औल्याएर समयमै परिणाम आउने कामलाई सघाउनु पर्नेमा जोड दिनुभयो।

बझाङ केन्द्रविन्दु भएर गत वर्ष असोज १६ र २० गते भूकम्प जाँदा बझाङमा चार हजार ८५८ र बैतडीको सिगासमा दुई वटा घरमा क्षति पुगेको थियो। साथै, भूकम्पले बझाङमै सात वटा सरकारी कार्यालय, जयपृथ्वी राजमार्ग, सहायक सडक र बैतडीका केही विद्यालयमा क्षति पुर्‍याएको थियो। सरकारले भूकम्प पीडित परिवारलाई पुर्नस्थापना गर्न बझाङको जयपृथ्वी नगरपालिका–९, देवलमा आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना गरेको गृहमन्त्री लेखकले बताउनुभयो। गृहमन्त्री लेखक भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थित बुझ्ने क्रममा शुक्रबार बैतडी हुँदै बझाङ पुग्नु भएको हो। भूकम्प प्रभावित परिवारलाई सरकारले यसअघि अस्थायी आवासका लागि २१ करोड ५० लाख रुपियाँ राहत उपलब्ध गराइसकेको छ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...