जागरण अभियानले जनतामा माओवादीप्रति भरोसा बढाएको छ: अध्यक्ष प्रचण्ड

Published on

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताउनुभएको छ। नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा व्यक्त गर्नुभएको हो। सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उहाँले बताउनुभयो। “हामी राम्रो काम गर्दै थियौं, तर उनीहरूले हाम्रो सरकार हटाइदिए। तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन्। हामीले प्रचारप्रसार गर्नै परेन। मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ। ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो। यो कुरा जनताले राम्रोसँग बुझेका छन्,” उहाँले स्पष्ट पार्नुभयो।

हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा निर्माण रोकिएको हुलाकी राजमार्ग भारतसँग कुराकानी गरी हुलाकी राजमार्गको उद्घाटन आफैंले गरेको थिएँ। त्यसैले अहिले पनि त्यहाँका जनतामा माओवादीप्रतिको विश्वास बलियो बनेको छ। माओवादीले जे भन्छ, त्यो गर्छ भन्ने अनुभूति उनीहरूमा छ।” पूर्वको झापादेखि महोत्तरीसम्मको अभियानमा करिब ४ हजार जना माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले तीमध्ये जनताबिच राम्रो प्रभाव भएका नेताहरू पनि रहेका कारण पार्टी पंक्तिमा उत्साह थपिएको बताउनुभयो।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अभियान केही दिन रोक्दा पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेताहरू, बुद्धिजीवी र कर्मचारीले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको बताउँदै त्यसले अभियानको प्रभाव स्पष्ट देखिएको उल्लेख गर्नुभयो। अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको भन्दै माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो। काठमाडौँको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उहाँले जानकारी दिनुभयो। नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गर्नुभयो।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...