बाँके निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान विस्तार गरिने

Published on

काठमाडौँ । बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसे मैदान क्षेत्र बढाइने भएको छ । सो निकुञ्जमा बाघको आहारा बढाउनका लागि घाँसे मैदान क्षेत्र विस्तार गर्न लागिएको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंती घाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा विस्तार गर्ने तयारी भइहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग हालसम्म ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान छन् । यहाँ रहेका २५ वटा बाघका लागि घाँसे मैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ । त्यही उद्देश्यले करौंती घाँसे मैदानको ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा छौँ ।”

प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको संख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताउनुभयो । उहाँले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको संख्या बढाउनेतर्फ पनि निकुञ्जले ध्यान केन्द्रित गरेको जानकारी दिनुभयो । यसका लागि मृग, चित्तल, चौका, बँदेल, रतुवालगायत वन्यजन्तुको संरक्षण सुरु गरिएको कँडेलको भनाइ छ । उहाँका अनुसार एउटा बाघले वर्षमा औसतमा ५० वटा सिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । त्यसैले बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धिलगायत चुनौती रहेको उहाँले जनाउनुभयो ।

निकुञ्जका अनुसार करौंती घाँसे मैदानमा बाघको सहजताका लागि तीनवटा सोलार जडित पानीपोखरी र एउटा मचान समेत बनाइएको छ । बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ देखिएको थिएन तर हाल यहाँ बाघको संख्या २५ पुगेको छ । उक्त निकुञ्जले बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिणपूर्व–पश्चिम राजमार्ग रहेको छ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिएको यस निकुञ्ज क्षेत्रमा आठवटा इकोसिस्टम, १२४ वनस्पति प्रजाति, ३५ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचरहरू पाइन्छन् । ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू निकुञ्जभित्र रहेका छन् ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...