डढेलोबाट वन जोगाउन यस्तो छ तयारी

Published on

काठमाडौँ । वन क्षेत्रमा डढेलो लाग्न नदिनका लागि वन कार्यालय तयारीमा जुटेका छन्। गर्मी याममा डढेलो लागेर वन क्षेत्रको विनाश हुने गरेको छ। त्यस्ता घटना हुन नदिन र भइहाले डढेलो निभाउनका लागि तयारी गर्न थालिएको हो। कैलाली, कञ्चनपुरका डिभिजन वन कार्यालयसहित सरोकारवाला निकायले विभिन्न तयारी गरिरहेका छन्। डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टले वन क्षेत्रलाई डढेलोबाट बचाउन जिल्लास्थित सबै निकायमा उच्च सतर्कता अपनाइएको बताउनुभयो। उहाँले केही दिनभित्रै सामुदायिक वनसँग छलफल गरेर थप कार्य अगाडि बढाउने उल्लेख गर्नुभयो।

चैतदेखि पानी नपरेसम्म विभिन्न ठाउँमा आगो लागेर वन क्षेत्र तहसनहस हुने गरेको छ। सुख्खा लम्बिएमा झन बढी क्षति हुने गरेको छ। डढेलोको कारण विगतमा भएको क्षतिलाईलाई मध्यनजगर गरेर सरोकारवाला निकायले विभिन्न तयारी गरिरहेका छन्। “अब हामीले पातपतिङ्गर हटाउने मेसिन ल्याउने तयारी पनि गरिरहेका छौं”, भट्टले भन्नुभयो,“आगो फैलिन नदिनका लागि सडक क्षेत्रको पातपितङ्गर सफा गरिन्छ।” यस्तै, सामुदायिक वन उपभोक्ता समूह लगायतमा डढेलो नियन्त्रण दल बनाइएको छ। डढेलो नियन्त्रणका लागि तालिम प्राप्त उक्त जनशक्तिलाई अधिकतम उपयोग गर्ने जनाइएको छ।

वन क्षेत्रमा थुप्रै सडक निर्माण भएका छन्। वनमा बनेका सडकले अग्नि नियन्त्रण रेखाको काम गर्ने गरेको जनाइएको छ। सडकहरूमा रहेको पातपतिङ्गर सफा गरिए एक खण्डमा लागेको डढेलो अर्को खण्डमा फैलिनबाट जोगिने बताइन्छ। प्रमुख भट्टले सरसफाइ गरेर वन क्षेत्रमा रहेका सडकहरूबाट पातपतिङ्गर हटाइने जानकारी दिनुभयो। सुदूरपश्चिममा प्राकृतिक विपत्मध्ये पहिलो नम्बरमा आगलागी रहेको छ। वन क्षेत्रसहित विभिन्न ठाउँमा बर्सेनि आगलागी हुँदै आएको छ। वन क्षेत्रमा मानवीय र प्राकृतिक कारणले आगालगी हुने गरेको छ। वन जलेपछि त्यसले घाँस, बोटबिरुवा सोत्तर हुनुका साथै वन्यजन्तुलाई नोक्सान पुग्ने गरेको छ।

मान्छेले आगो लगाउँदा वा लापरबाही गर्दा डढेलो फैलिएर ठुलो क्षेत्रमा वन नोक्सान हुने गरेको बताइन्छ। यसैगरी, कतिपय ठाउँमा चट्याङ पर्दा पनि वन क्षेत्रमा आगो लाग्ने गरेको छ। सुख्खा याममा पातपतिङ्गर सुकेका कारण चाँडै आगो समात्ने गर्दछ। भीरपाखामा अलि माथिबाट खसेको ढुङ्गा अर्को ढुङ्गासँग ठोक्किएमा पनि वन क्षेत्रमा आगो लागेर डढेलो फैलिने गर्दछ। प्राकृतिक र मानवीय कारणले वन क्षेत्रमा फैलिने डढेलोका कारण हरेक वर्ष वनमा क्षति हुने गरेका कारण वनलाई डढेलोबाट जोगाउनका लागि तयारी थालिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताउनुभयो। उहाँले वन्यजन्तुको सिकार गर्नका लागि पनि मान्छेले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको उल्लेख गर्नुभयो। “राम्रो घाँस उम्रिन्छ भनेर पनि आगो लगाउने गरेको पाइएको छ”, ठाकुरले भन्नुभयो।

उहाँका अनुसार कञ्चनपुरमा वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि दमकल, ट्रयाक्टर छन्। डिभिजन वन कार्यालयहरुले सामुदायिक वन, स्थानीय तह र सरोकारवालासँग मिलेर प्रभावकारी रूपमा डढेलो नियन्त्रण गर्ने ठाकुरको भनाइ छ। उहाँले स्थानीय तहसँग समन्वय गरेर डढेलो लागेको स्थानमा तत्काल दमकल पठाउने उल्लेख गर्नुभयो। यसैगरी, विगतमा निर्माण गरिएका अग्नि नियन्त्रण रेखा सरसफाइ गर्ने, वन क्षेत्रमा गोडमेलका साथै झाडी सरसफाइ गर्ने जस्ता क्रियाकलापलाई अगाडि बढाउने ठाकुरले बताउनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...