लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

Published on

काठमाडौँ । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए । एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । विसं २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो । यही चैत १ गते मेसिनले करिब एक सय ७० मिटर जमिन खनेर पानी निकालेको हो । यही चैत ९ गतेदेखि नियमित रुपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिनुभयो । “गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ”, अध्यक्ष थापाले भन्नुभयो । नगरपालिकाको रु २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको रु. तीन लाखको लागतमा पानी निकालिएको हो । “सिङ्गो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए”, उहाँले विगतको समस्या बताउनुभयो । स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाउनुभयो । खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उहाँले बताउनुभयो । स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताउनुभयो । जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उहाँले बताउनुभयो । रासस

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...