काठमाडौँ । पुराना शैलीका तर सुन्दर सुन्तले रङ्गमा सजिएका एकैनासका घर । एउटै रङ्गमा सजिएका ठाउँ ठाउँमा पाटी पौवा र नेवारी रहनसहन । ठाउँ ठाउँमा झिँगटी तथा विभिन्न पुराना कलाकृति झल्कने घर । पाटी पौवामा बसिरहेका आगन्तुक तथा स्थानीय । केही होमस्टे, केही आधुनिक होटेल, अधिकांश घरमा पसल । यो पछिल्लो समय धनकुटाको कोप्चेले पाएको नयाँ पहिचान हो । धनकुटा नगरपालिका ५ मा रहेको कोप्चेले नयाँ पहिचानमै नयाँ नामसमेत पाएको छ । त्यो हो सुन्दर सुन्तले सहर । करिब तिन वर्षअघिसम्म गुमनाम रहेको कोप्चे त्यस यता भने केही जुर्मुराएको छ । कोप्चे पुनर्जागरण अभियानमा स्थानीय जुटेपछि कोप्चे पुन जुर्मुराएको हो । चरो मुसो नपुग्ने कोप्चेमा अहिले पर्यटक आउन थालेका छन् । बन्द रहेका अधिकांश घरमा व्यापार सुरु भएको छ ।
भत्किन लागेका पुराना घर र हेर्दै बिजोगलाग्दो अवस्थामा रहेको कोप्चे अहिले भने सुन्दर सुन्तले सहरको रूपमा परिवर्तन हुन सफल भएको हो । अधिकांश बन्द रहेका घर पुनः खोलिन थालेका छन् । कोप्चे पुनर्जागरण अभियान सुरु भएपछि कोप्चेले काँचुली फेर्न थालेको स्थानीय कृष्णमाया श्रेष्ठ बताउनुहुन्छ । “करिब तिन दशकसम्म यो स्थान सुनसान रह्यो मानिसै नआउने दिउँसै स्याल कुद्ने अवस्था रहेको थियो तर अहिले एकाएक अवस्था फेरिएको छ पर्यटक आउन थालेका छन्,” श्रेष्ठ भन्नुहुन्छ । त्यसो त कोप्चे सधैं गुमनाम थिएन । यो धनकुटाको मात्र नभई पूर्वी पहाडको व्यापारिक हब थियो । जति बेला धनकुटाभन्दा माथि सडक पुगेको थिएन । करिब दुई सय वर्ष अघिदेखि सुरु भएको कोप्चेको चहलपहल २०४२/४३ सालसम्म रह्यो । २०४२ सालमा सडक धनकुटासम्म पुग्यो । अनि धनकुटाबाट सडक उकालो लागेसँगै जिल्लाका अन्य क्षेत्रलाई त फाइदा पुग्यो तर कोप्चेका लागि भने सडक दुर्भाग्य नै बन्न पुग्यो ।
करिब २०५० सालपछि भने शून्य भएको राजेन्द्र प्रधान बताउनुहुन्छ । “यो बिचमा धेरै कोप्चेवासीले कोप्चे छाडे, जसका कारण कोप्चे गुमनाम बन्यो, तर पुनः अहिले तल्लो कोप्चे र माथिल्लो कोप्चे मिलेर पुरानो रौनकता फर्काउन विभिन्न अभियान सञ्चालन गरेपछि केही रौनकता आएको छ,” श्रेष्ठ भन्नुहुन्छ । तर पहिलेको व्यापारिक हबलाई अब भने पर्यटकीय हब बनाउने उद्देश्य स्थानीयको छ । त्यही अभियान अन्तर्गत कोप्चेका सम्पूर्ण घरहरुमा सुन्तले रङ्ग लगाएर सुन्तले सहर (ओरेन्ज सिटी), फूल रोपेर फूलको सहर अभियानसहित त्यहाँको सम्पदा र धरोहर जोगाउन विभिन्न कदम चालिएको छ ।
त्यस्तै वर्षमा दुइ पटकसम्म कोप्चे उत्सव आयोजना गरीरहेको छ । उत्सव अन्यत्रको भन्दा फरक हुने गरेको कोप्चे पुनर्जागरण अभियानका सदस्य गोविन्द राई बताउनुहुन्छ । जहाँ मैलिक खेलहरु, दुना टपरा गाँस्ने प्रतियोगिता, नेवारी र धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको विभिन्न मौलिक खानाका स्टल, जातीयता झल्काउने कला संस्कृति, भेषभूषा रहनसहन, नृत्य तथा साङ्गीतिक प्रस्तुति मात्र देख्न पाइने राईको भनाइ छ । यी कार्यले कोप्चे अवलोकनको लागि आउने आगन्तुकको सङ्ख्या बढ्न थालेको छ । त्यसो त कोप्चेमा पछिल्लो समय ठुला लगानीमा होटल खुल्न थालेका छन् । त्यस्तै व्यापार व्यवसाय पनि थपिँदो अवस्थामा छ । माथिल्लो कोप्चेमा स्टार होटल मुर्चुङ्गा सञ्चालनमा आएको छ । त्यस्तै तल्लो कोप्चेमा रेष्टुरेन्ट तथा पाहुना घर सञ्चालनमा छ । यी बाहेक मिनि मार्केट होमस्टे तथा विभिन्न पसलहरु सुरु भएको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्जल कर्माचार्य बताउनुहुन्छ । “यहाँ २०५० साल यता धेरै ब्यापार बन्द भएसँगै धेरै घर बन्द गरेर अधिकांश बसाइँ सरे तर अहिले ती घर खुल्न थालेका छन्,” कर्माचार्य भन्नुहुन्छ ।