काठमाडौँ । जहाज मर्मतका कारण साढे तीन महिनादेखि अबरुद्ध रेसुङ्गा बिमानस्थलको हवाई उडान सुरु भएको छ । रेसुङ्गा बिमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्दैआएको थियो । जहाज मर्मतका कारण गत पुस ४ गतेपछि उडान भएको थिएन् । पुनः सोमबार १४ जना यात्रुसहित नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट आएर चार यात्रु लिएर फर्किएको रेसुंगा बिमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिनुभयो । आउने बिहीबार अर्को उडान हुने बताइएको छ । अहिलेलाई एक दिनको तालिका बने पनि हप्तामा दुई दिन उडानको योजना बनिरहेको थापाले बताउनुभयो । बिहान ६:१५ मा काठमाडौबाट र ७:१५ मा रेसुंगा बिमानस्थलबाट उडान हुने बिमानस्थल प्रमुख थापाले बताउनुभयो ।
साताको चार दिनसम्म उडान अनुमति पाएको एयरलाइन्सले जहाज अभावका कारण सातामा एक दिन मात्र उडान गर्ने अवस्था रहेको छ । गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा २०७५ साल जेठ २५ गते तारा एयरको जहाजले कच्ची धावनमार्गमा सफलतापूर्वक उडान गरेको थियो । तारा एयरकै जहाजले २०७९ पुस २४ गते ‘प्रुभिङ फ्लाइट’ गरेको थियो । २०८० बैशाख १५ गतेबाट नेपाल एयरलायन्सको जहाजले परीक्षण उडान गरेको थियो । काठमाडौं–सिमीचौर करिव ५० मिनेटको उडान दूरी रहेको छ । काठमाडौंबाट रेसुंगा सात हजार ५०० रुपियाँ र रेसुंगा बिमानस्थलबाट काठमाडौ सात हजार ३०० रुपियाँ हवाई भाडा रहेको एयरलाइन्सले जनाएको छ ।