काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । वराहक्षेत्र नगर अस्पतालबाट सञ्चालनमा ल्याइएको आँखा उपचार कक्षको उद्घाटन गर्न बराहक्षेत्र आइपुग्नु भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य कार्कीले सो कुरा बताउनुभएको हो । समृद्ध नेपाल बनाउन सबै एक भएर लाग्नुपर्ने कुरालाई जोड दिँदै मुलुकको दिगो विकासका साथै उत्पादन मुलुक क्षेत्रमा लगानी बढाएर रोजगारी सृजना गर्नुपर्ने नेता कार्कीले बताउनुभएको छ । नेता कार्कीले मानिस स्वास्थ्य भएमात्रै देशको विकासमा सहज हुने हुँदा सबैले आआफ्नो तह र ठाउँबाट स्वास्थ्य क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको हो ।
नगर अस्पतालमा २४ सैं घण्टा इमर्जेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्सरे, फिजोयोथेरापी सेवा र हप्ताको दुई दिन आँखा उपचार सेवा हुँदै आएकोमा तिलगङ्गा आँखा अस्पताल र गोल्छा आँखा अस्पतालको संयुक्त लगानीमा नगर अस्पतालको परिसर क्षेत्रमा तीन कोठे भवनमा निर्माण गरी आँखा उपचार कक्षको विधिवत् उद्घाटन गरिएको छ । आँखा उपचार कक्षमा मोतियाविन्दुको समेत शल्यक्रिया गरिने जनाइएको छ । ६ वर्षअघि स्थापना भएको वराहक्षेत्र नगर अस्पतालमा २०७६ देखि २४ घण्टे आकस्मिक सेवा सुरु हुँदै आएको छ । अस्पतालले गत साउनबाट नौ शय्याको आकस्मिक कक्ष सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । उहाँले बिरामीलाई आकस्मिक सेवा प्रदान गर्न आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । अस्पतालको आफ्नै आन्तरिक स्रोतबाट आकस्मिक कक्ष गरी सञ्चालनमा ल्याएको उहाँले जनाउनुभयो ।
नगर अस्पतालमा वर्षको ३६५ दिनै निःशुल्क बहिरङ्ग (ओपिटी) सेवा सञ्चालन हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । नगरवासीको स्वास्थ्यमा पहुँच पुर्याउन अस्पतालको थप सेवा विस्तारमा सहयोग पुर्याउदै आएको नेता कार्कीले बताउनुभयो । नगरवासी आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा सुविधा लिनबाट बञ्चित हुन नपरोस् भनेर स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन आफू लागि परिरहेको उहाँले बताउनुभयो । हाल अस्पतालमा छ मेडिकल अफिसर (एमबिबिएस) डक्टर, हेल्थ असिस्टेन्ट तीन, अहेव दुई र नर्सरअनमी १२ जनालगायत ५९ जना करारमा कर्मचारी रहेका छन् । अस्पतालमा थप विशेषज्ञ सेवाअन्तर्गत फिजिसियन, बालरोग, गाइनो, दाँतलगायतका सेवा सञ्चालन गरिने अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले बताउनुभयो ।
दैनिक नगर अस्तालमा दुई सयदेखि तीन सय जनासम्म उपचारका लागि बिरामी आउने गरेका छन् । बिहान ७ देखि साँझ ७ बजेसम्म सार्वजनिक बिदाका दिनमा समेत अस्पतालले सेवा उपलब्ध गराउँदै आएको छ । वराहक्षेत्र नगर अस्पतालले वर्षको ३६५ दिन नै सार्वजनिक बिदा र शनिबारसमेत बिहान ७ देखि साँझ ७ बजेसम्म बहिरङ्ग सेवा र आकस्मिक सेवा दिँदै आएको छ । महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीलङ्का टापु, भरौल र वराहक्षेत्रका स्थानीय उपचारका लागि नगरअस्पताल आउने गरेका छन् । अस्पतालले नेपाल सरकारको बिमा बोर्डले सुविधा थैलीअन्तर्गत दिएको आयुर्वेदिक औषधीसहित ११ सय ८५ प्रकारका औषधी डाक्टरको सिफारिसमा बिरामीलाई निःशुल्क वितरण गर्दै आएको वराहक्षेत्र अस्पताल प्रशासनले जनाएको छ ।