ट्याक खुलेको १९ वर्षपछि सुदला–मान्द्रेढुङ्गा सडक कालोपत्र सुरु

Published on

काठमाडौँ । दक्षिण बागलुङको बरेङ गाउँपालिकाको सुदला–मान्द्रेढुङ्गा सडक खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको छ । गुल्मीको शान्तिपुर जोड्ने गरी २०६४ जेठ १० गते ट्याक खुलेको ८ सय ३० मिटर दूरीको उक्त सडक खण्डमा १९ वर्षपछि स्तरोन्नतिसँगै कालोपत्रको काम सुरु भएको हो । पालिकाको बजेटमा सडक कालोपत्र हुन लागेको हो । सिजन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ८१ लाख ८५ हजार रुपियाँमा सम्झौता गरी काम सुरु गरेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । २०८१ मङ्सिर १८ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०८२ वैशाख १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । बरेङको प्रशासनिक केन्द्र रहेको वडा नं. २ हुग्दीशिरको सुदलादेखि वडा नं. ३ बाटाकाचौर जोड्ने सडक खण्डमा ६ मिटर चौडा कालोपत्र गरिने छ । पालिकाका इन्जिनियर रामकृष्ण पौडेलका अनुसार, आर्थिक हिसाबले मितव्ययी र शाखा सडकमा गरिने प्रि–मिक्स कार्पेटिङ प्रविधिको कालोपत्रे गरिने छ । सडक कालोपत्रसँगै नालीदेखि टेवा पर्खाल र ढलानको काम पनि चलिरहेको पौडेलले बताउनुभयो ।

लामो समयदेखि सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा समेत असहज भइरहेको छ । ‘‘सडक कालोपत्र भएपछि हिउँदमा धुलो र वर्षामा हिलो सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका नागरिकले अब सहज यात्रा गर्न पाउँछन्’’ अध्यक्ष शर्माले भन्नुभयो । यो खण्डले बाटाकाचौरका नयाँबजार, साग्दी र खाल्लेवासीलाई कालोपत्र सडकले सहज यात्रासँगै खाद्यन्न ढुवानीमा लाभ हुने अध्यक्ष शर्माको भनाइ छ । सम्झौतालगत्तै कम्पनीले मेशिन र पर्याप्त मजदुर प्रयोग गरी काममा तीव्रता दिएको छ । वर्षा नभए कालोपत्रको काम समयअगावै सकिने निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर क्षेत्रीको दाबी छ । तर सम्झौता अवधि सकिन नौ दिनमात्र बाँकी छ । कालोपत्रसँगै थुप्रै संरचनाका काम बाँकी रहेकाले जेठ १५ (एक महिना)सम्म समय थप्ने विषयमा कार्यपालिकामा छलफल हुने इन्जिनियर पौडेलले बताउनुभयो । शान्तिपुर जोड्ने पहिलो खण्ड सुदला–मान्द्रेढुङ्गा सडक कालोपत्र गरेलगत्तै नयाँबजार–हुग्दीशिर खण्डमा पनि कालोपत्रको काम हुने पौडेलले जानकारी दिनुभयो । दुवै सडकखण्ड कालोपत्र हुँदा बरेङसँगै गुल्मी शान्तिपुरका नागरिकलाई यात्रासँगै खाद्यन्न र कृषि उपज ढुवानीमा सहज हुने छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...