वर्षे बर्सेनि घट्दै चैते धान रोप्ने क्षेत्रफल

Published on

काठमाडौँ । गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कअनुसार प्रत्येक वर्ष चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको पाइएको हो । यस वर्ष गुल्मीका कृषकहरूले ३०२ हेक्टर क्षेत्रफलमा चैते धान रोपेका छन् । अहिले चैते धान रोप्ने क्षेत्रफलमा ५ दशमलव ३२ प्रतिशतले कमी आएको हो । फागुनको अन्तिम हप्तादेखि वैशाखको पहिलो हप्तासम्म चैते धान रोप्ने गरेको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको पछिल्लो चार वर्षको तथ्याङ्कलाई हेर्दा यस जिल्लामा चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३५२ हेक्टर, आर्थिक वर्ष २०७८/०७९ मा ३५० हेक्टर, आर्थिक वर्ष २०७९/०८० मा ३४१ हेक्टर र आर्थिक वर्ष २०८०/०८१ मा ३१९ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको तथ्याङ्कमा छ । चैते धान साउनको पहिलो सातासम्म पाक्छ । चैते धान रोपेको ठाउँमा पुनः वर्षे धान समेत रोप्ने गरिन्छ । मानिसको बसाइसराइ र वैदेशिक रोजगारका कारण उत्पादन गर्ने जनशक्ति नहुँदा खेती गर्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताउनुभयो ।

पछिल्ला केहीवर्ष यता हिउँदमा वर्षात पनि नभएकाले खेती गर्न समस्या हुँदै आएको पाइन्छ । सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । हिउँदमा वर्षा नभएकाले चैते धानको खेती र उत्पादनमा कमी हुँदै गएको छ । यसवर्ष एक हजार २२६ दशमलव १२ मेट्रिकटनले उत्पादन बढ्ने अपेक्षा गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले बताउनुभयो । अहिले समयमा पानी परेको र उन्नत बिउका कारण उत्पादनमा वृद्धि आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

चैते धानको रूपमा स्थानीय मार्सी, सिएच ४५ चैते, हर्दिनाथ १ रोपिन्छ । हाइब्रिड धान शङ्कर, उपज, च्याम्पियन, यूएस ३१२ रोपिन्छ । यस जिल्लामा विशेषगरी स्थानीय हंसराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी खेती गरिन्छ । कम उत्पादन दिने भएता पनि उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने हुँदा किसानको रोजाइमा पर्ने बताइएको छ ।

कतिपय धानको चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएकाले पनि किसान आफैँले यी बिउँलाई निरन्तरता दिइरहेको पाइएको छ । जिल्लामा चैते र बर्खे गरी सात हजार ४३९ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । यस जिल्लामा विशेषगरी इस्मा गाउँपालिकाको चौरासी र हुलाके, चन्द्रकोटको मजुवा, सत्यवतीको जोहाङ् खैरेनी, गुल्मीदरबारको खज्र्याङ् र मालिकाको सिमलटारी लगायतका विभिन्न स्थानमा चैते धान रोप्ने गरिन्छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...