स्थानीय सरकार जनतासँग एकदमै नजिकको सरकार भएको हुनाले जनताले स्थानीय सरकारबाट धेरै अपेक्षा राखेको पाइन्छ । स्थानीय सरकार भएको कारणले जनतालाई पनि आफ्नो समस्याहरु प्रकट गर्न निकै सहज भएको हुन्छ । अर्को शब्दमा भन्नु पर्दा जनताको आवाज हो स्थानीय सरकार । आन्तरिक स्रोतको कमी र प्रदेश र सङ्घीय सरकाले कम बजेट दिँदा नागरिको आकांक्षा पुरा गर्न निकै गाह्रो भएको भट्टको अनुभव छ ।
एउटा जिम्मेवार पदमा बसेर काम गर्नुको जोस र जाँगर फरकै हुन्छ भन्ने मान्यता राख्ने र आफ्नो वडाको लागि भिन्न भिजन भएका वडा अध्यक्ष हुन् उत्तम प्रसाद भट्ट । एक फरकै पहिचान बनाउन सफल भीमदत्त नगरपालिकाको वडा नम्बर २ यस्तो वडा हो जहाँ जनचाहनाअनुसार काम हुन्छ । त्यस्तै ती कामहरुलाई मध्यनजर गर्दै वडा नम्बर दुईका वडा अध्यक्ष भट्टसँग एएनएनकर्मी अरुण डगौराले गरेको अन्तरवार्ताको सारांश:
वडामा कस्ता योजनाहरुलाई प्राथमिकता दिनुभएको छ ? ती योजनाहरु कति सफल भएका छन् ?
योजनामा हामीले अहिले बाटाघाटोलाई बढी प्राथमिकतामा राखेका छौँ । अनि हाम्रो वडामा सबैभन्दा ठुलो समस्या तटबन्धको छ । खोलानालाहरुमा बर्सेनी कटान भएको हुनाले तटबन्धलाई पनि जोड दिएका छौँ । भाँसी खोला र कन्कट्टे खोला त्यस्तै खैरे खोला वर्खायाममा पुरै भरिएर आउँछ । चुरे पहाड भएकाले वर्खायाममा पानीको वेग एकदम बढी भएको हुनाले कटानको समस्या धेरै हुन्छ । त्यसैले अहिले हामीले त्यसलाई धेरै प्राथमिकतामा राखेका छौँ ।
यी योजनाहरुमा लागि एकदमै ठुलो बजेटको आवश्यकता भएको हुनाले बजेटको अभावले योजनाहरु सफल त हुन पाएका छैनन् । तर पनि के हो भन्दा बिस्तारै ती योजनाहरु कार्यान्व्यनमा नै छन् । साना–साना काममा हामी लागिराखेकै छौँ । बजेटको सुनिश्चितताको लागि प्रदेशसँग, केन्द्रसँग र नगरपालिकासँग हामी भ्याइराखेका नै छौँ । सबै राजनीतिक दलहरु, बुद्धिजिवीहरु साथै सबै टोलका अध्यक्ष ज्यूहरुसँग बसेर प्राथमिकता अनुसारले हामी काम गरिरहेका छौँ । साना–साना समस्याहरु त हामी समाधान गर्न सक्छौँ । तर अब धेरै ठुला विकास योजनाहरु सबै निरन्तर गर्न सबैसँग सहकार्य गरेर हामी अगाडि बढिराखेका छौँ ।
स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा कस्ता योजनाहरु ल्याउनुभएको छ ?
आधारभूत स्वास्थ्य शाखा हामीसँगै भीमदत्तमा नै छ । हामीले ७० वर्षभन्दा माथिकालाई निःशूल्क चेक जाँच घरमै गएर गरिरहेका छौँ । सुगर, प्रेसर, आँखा शिविरहरु, स्वास्थ्य शिविरहरु, महिला शिविरहरु वडाहरुमा हामीले प्रत्येक साल गरिरहेका छौँ ।
शिक्षाको लागि हाम्रो वडामा एउटा मात्रै सरकारी विद्यालय सरस्वती मावि उल्टाखाममा भएको हुनाले बच्चाहरुको खेलकुदका लागि नयाँनौलो सामग्री र गत वर्षबाट अङ्ग्रेजी माध्यमबाट कोर्स सञ्चालन गरेका छौँ । बच्चाहरुको लागि एकदमै राम्रो वातावरण बनाएर विद्यालयमा पनि हामीले लगानी लगाएका छौँ ।
कृषि क्षेत्र पनि एकदम राम्रो छ । धान, उखु पनि निःशुल्क दिइएको हो । बेमौसमी तरकारी खेती पनि हामीले निम्न स्तरका छनौट गरेका छौँ । जनजाति तथा दलित समुदायका कृषकहरुलाई सहकारी कृषि ज्ञान केन्द्रबाट बिउबिजन, स्प्रे टङ्कीहरु समय—समयमा दिइराखेका हुन्छौँ । कृषिमा आत्मनिर्भर गर्नका लागि अझ लगानी लगाउनु पर्ने छ । त्यसको लागि धान, गहुँ, मकै तथा बेमौसमी तरकारीतिर राम्रै काम गरिरहेका छौँ । हाम्रा किसानहरुले मलजल समयमा पाएका छैनन् । अषाढमा चाहिने मल अहिलेदेखि हामीले व्यवस्थापन नगर्दा भने कृषकले समयमा मल पाइराखेका छैनन् । कृषिलाई समयमा मल दिँदा पनि उत्पादन र कृषक दुबै मार्कामा नै छन् ।
वडामा महला सशक्तिकरणसम्बन्धी कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?
महिला सशक्तिकरण सम्बन्धि सिलाइ कटाइ, कृषि सम्बन्धि कार्यक्रम, माला पोते कार्यक्रम साथै यस्तै महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रदेश र केन्द्रबाट पनि बजेट ल्याएर एकल महिलाहरुका लागि बाख्रा वितरण कार्यक्रम जस्ता कार्यक्रमहरु भइरहेका हुन्छन् । महिलाहरुका लागि यस्ता कार्यक्रमहरु हुने गरेका छन् । महिलाहरुका लागि राम्रै काम भइराखेको छ । बजेट थोरै भएको हुनाले पनि हामी स–साना कार्यक्रमहरुमा लागिरेका छौँ ।
आफ्नो वडाबासीबाट कस्तो सहयोग पाउनुभएको छ ?
हामीले सहयोग त पाएकै छौँ । राम्रो काम गरेका छौँ । जति पनि सुचना आउँछ त्यो सबै जनतामाझ प्रवाह गरेको हुनाले जनताहरुबाट हामीले त्यस्तो असहयोग पाएका छैनौँ । हामीले जनताबाट सहयोग पाएकै छौँ । बजेटअनुसारको काम गरेका छौँ र त्यसकै मूल्याङ्कन वापत वडाबासीबाट राम्रै सहयोग पाएका छौँ ।
वडा अध्यक्षको पदमा बसेर काम गर्दा कस्ता समस्याहरुको सामना गर्नु परेको छ ?
सामाजिक काम गर्दा पुराना बाटाघाटाहरुमा समस्याहरु भइरहेका हुन्छन् । चुनौतीहरु त धेरै हुन्छन् । यस्ता समस्याहरुलाई समयअनुसार सहमति अनुसार सबैसँग सर–सल्लाह गरेर समाधानतर्फ अगाडि गइरहेका छौँ ।
वडाको आगामी योजना के छ ?
वडाको आगामी योजना भनेको पुराना पूर्व कामहरुलाई निरन्तरता दिने, पिच गराउन बाँकी रहेको ठाँउमा पिच गराउने, शिक्षालाई अझ प्रभावकारी बनाउने, महिलालाई सिपमुलक तालिममा लगाउने, अधुरा कामहरुलाई निरन्तरता जस्ता कामहरु रहेका छन् । पिछडिएका वर्गहरुलाई कसरी अगाडि ल्याउन सकिन्छ ? उहाँहरुसँग कसरी सहकार्य गर्न सकिन्छ ? भन्नमा हाम्रो जोड हो ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
धेरै धेरै धन्यवाद ! छ यहाँलाई, मलाई आफ्नो मिडियामा बोलाएर अन्तरवार्ता गर्नुभयो । जनतासँग सहकार्य गर्ने मौका दिनु भयो । यसका लागि म तपाईंप्रति र तपाईंको मिडियाप्रति धेरै धन्यवाद ! दिन चाहन्छु । र यसै मिडियामार्फत वडा नम्बर २ का सम्पूर्ण वडाबासीहरुलाई नयाँ वर्षको शुभकामनासहित धन्यवाद ! दिन चाहन्छु ।