गाउँघरको लागि नजिकको सरकार भनेर चिनिने स्थानीय सरकार जनताको आवाज सुन्नका लागि नै बनेको हुन्छ । जनताको बोलीलाई ठाउँ दिने काम नै स्थानीय सरकारको हुन्छ । दबेका, पिछडिएका र समस्याबाट उम्किन नसकेका सर्वसाधारण जनताको आवाजलाई सामाधानतर्फ लैजाने काममा महत्त्वपूर्ण भूमिका यसले निर्वाह गरेको हुन्छ । गाउँ समाजको उन्नती प्रगति साथै विकासका लागि लागिपरेका एक जना व्यक्तित्व हुनुहुन्छ आसेफ कुँवर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कुँवरसँग एएनएनकर्मी अरुण डगौराले कुराकानीको अंश:
कार्यभार सम्हालेपछि अहिलेसम्म कुन–कुन योजनाहरु सफल पार्नुभयो ? अहिले कस्ता योजनाहरु कार्यान्व्यनमा छन् ?
यो वडा नम्बर १ को भूगोल हेर्दा चाँहि अरुभन्दा फरक नै छ । दुई खोलाको बिचमा रहेको टापु जस्तै छ । रौटेला खोला र खहरे खोलाले वर्खायाममा एकदमै क्षति पुर्याउँथ्यो । ०७४/७५ तिर हाम्रो गृहमन्त्री रमेश लेखक ज्यूले हामीसँग बसेर ठुलो योजना बनाउनु भयो । त्यसपछि त्यसको आधारमा रकम छुट्याइदिनु भयो । अनि हामी वारि र पारि दुबैतिर तटबन्ध लगाउन सफल भयौँ । त्यसपछि अब त्यति क्षति भएको छैन । अझै पनि तटबन्ध लगाउन बाँकी नै छ । तलतिर त्यो काम चलिरहेको छ । अर्को ठुलो समस्या यो वडामा भनेको खानेपानीको हो । अहिले धर्मशान्ति खानेपानी योजनाले काम गरिरहेको छ । त्यो सात वर्षको योजना हो । अहिले भने छैटौँ वर्ष चलिरहेको छ । पाइप लाइनदेखि लिएर सबै कामहरु अब अन्तिम चरणमा नै पुगेको छ । अहिले टंकी निर्माण भइरहेको छ । त्यो बनिसकेपछि पाइप लाइन बिछाउने काम पनि सकिन्छ । अनि यहाँको जनतालाई ठुलो राहत हुन्छ । किनकी पानीको पनि अभाव र समस्या भएको ठाउँ हो यो । यसमा पहाडी भाग पनि पर्छ । त्यसले गर्दा ती योजनाहरु, सडकहरु, पुल पुलेसाहरु क्रमअनुसारले बनिरहेका छन् ।
यहाँ म आइसकेपछि ठाउँ–ठाउँमा आवश्यकताअनुसारको झुलुङ्गे पुलहरु, बाटोहरु, तटबन्धहरु, खानेपानीदेखि लिएर स्वास्थ्यमा सुधार र विद्यालयमा सुधार आएको छ । वडा अध्यक्षमा आइसकेपछि बाटोघाटोहरु पुलहरु त ठिकै छ ।
आफ्नो वडामा बौद्धिक पलायनलाई रोक्न कस्ता कदम चाल्नुभएको छ ?
बौद्धिक पलायन भनेको त राष्ट्रियस्तरको नै ठुलो मुद्दा हो । वडाले त्यो समस्यालाई रोक्नै सक्ने भन्ने हुँदैन । तर हामीले आफ्नोतर्फबाट सक्दो प्रयास चाँहि गरेका छौँ ।
तपाईंको वडामा स्वास्थ्य सुविधा कस्तो छ ?
मेरो वडामा स्वास्थ्य सुविधा राम्रै छ । महाकाली प्रादेशिक अस्पताल हाम्रो वडादेखि नजिकै पर्छ । सामान्य किसिमका रोगब्याधीका लागि बिरामीलाई उपचारको लागि कतै अन्त कुद्नु पर्ने हुँदैन । अन्य सुविधाहरु हाम्रो वडामा भएको स्वास्थ्य चौकीले दिइराखेको छ ।
एउटा जिम्मेवार पदमा बसेर काम गरिरहँदा के–कस्ता अवसर र चुनौतीहरुको सामना गर्नु परेको छ ?
बाहिर घुम्न त म कतै पनि गएन । नेपालभित्रै पनि धेरै मौका मिल्यो । धेरै कुराहारु सिक्न पाइयो देख्न पाइयो । कसैको समस्याहरु समाधान गर्ने मौका मिल्यो ।
जिम्मेवार पदमा बस्नु भनेको साह्रै नै चुनौतीको विषय रहेछ आफैमा । वडा अध्यक्षले विभिन्न किसिमका समस्याहरुको समाधान गर्नु पर्ने हुन्छ । नापीको काम पनि हामीले गर्नु पर्ने, खोलानालामा भएका पुल पुलेसाहरु पनि हामीले नै हेर्नु पर्ने हुन्छ । कसैको कसैसँग भएका झगडाहरु पनि हामीले नै मिलाउनु पर्ने हुन्छ । जनताको आँट सबैभन्दा ठूलो हुन्छ । तर हामीले गर्ने काम त्यती गर्दागर्दै पनि जनताहरु प्रसन्न नहुने पनि हुन्छ । जनताले हामीले पनि केहि सहयोग पाए हुन्थ्यो भन्छन् । कोही भने वडामैत्री जनता पनि हुन्छन् । निर्माण हुने काम जसमा सबैलाई फाइदा हुन्छ त्यसमा विवाद छैन । तर आफ्नो इच्छा र फाइदाका लागि गरिने काममा चाँहि अलिकति निराश हुने काम पनि भएको पाइन्छ । यही छ यसमा चुनौती भनेको । यस्ता–यस्ता खालका अवसर र चुनौतीहरु आएका छन् ।
तपाईंको वडाभित्रका किसानले कृषि ज्ञान केन्द्रबाट कस्ता खालका तालिम र सेवा सुविधाहरु पाएका छन् ? ती तालिम पश्चात् कृषक उक्त पेसामा कत्तिको सहभागी भए ?
मेरो वडाभित्रका किसानले कृषि ज्ञान केन्द्रबाट धेरै नै सेवा सुविधाहरु पाएका छन् । खनजोत गर्ने पावर टिलर(चम्फा ट्रेक्टर), पानी बोरिङ, बिउ बिजनका सामाग्रीहरु पाएका छन् । एक पटक वडामा च्याउ खेती गर्ने तालिम आएको थियो । आलु खेती पनि यहाँ बढी हुन्छ । यहाँका किसानले आलु खेती गर्ने तालिम पनि पाए । यी दुई तालिमहरुलाई मेरो वडामा किसानले उपभोग गर्न पाएका छन् ।
तालिम पाए पश्चात् किसानहरु च्याउ खेती र आलु खेतीमा आफ्नो पसिना बगाइरहेका छन् । जे होस् अहिले राम्रो नै भएको छ । कृषकहरु आफै उत्पादन गर्ने तर्फ पनि लागेका छन् । यो हामी सबैको लागि खुसीको कुरा पनि हो । पहिले बजारमा हाम्रो उत्पादन गरेको वस्तु १०% जान्थ्यो भने अहिले ५०% जाने गरेको छ । आफ्नो वडामा यत्तिको मेहेनती किसान दाजुभाइ दिदीबहिनी देख्दा निकै गर्व लाग्छ ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम हजुरले मेरो जिज्ञासा राख्ने मलाई मौका दिनु भयो । यसको लागि धेरै धेरै धन्यवाद ! दिन चाहन्छु । अब यसपछिकोे वडा अध्यक्षहरुलाई पनि चुनौती छ । हामीहरु काम गरिरहेका हुन्छौँ । जनताहरुले पनि माया गरिरहेका हुन्छन् । उहाँहरुले आश मानेर नै राम्रो भन्ने हुन् हामीलाई । हामीले सकेसम्म उहाँहरुको दुःख सुखमा सहयोग गरिदिनु पर्छ । हामी सबैले इमानदार पूर्वक भ्रष्टाचार विरुद्ध काम गर्नु पर्ने हुन्छ ।