दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

Published on

काठमाडौं । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक सय ६७ मिलिमिटर वर्षा भएको छ । बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ । दाङमा पछिल्लो एक घण्टामै २५ मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिनुभयो । यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उहाँले बताउनुभयो । यद्यपि मनसुन न्यूनचापीय प्रणालीको असर भने नेपालभरि नै छ । जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहनेछ ।
पछिल्लो छ घण्टामा मात्र दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा, बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अन्य साना खोलामा आकस्मिक बाढी तथा होचा भूभागमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ ।

देशभर अधिकांश बदली छ । लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको महाशाखाले जनाएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...