दर्जनभन्दा बढी कार्यालयमा पानी, तीन दिनदेखि छैन बिजुली

Published on

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको बाढीको कारण दर्जनभन्दा बढी कार्यालयमा पानी पसेको छ । बाढीको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा बिजुलीसमेत अवरुद्ध छ । सदरमुकाम जलेश्वर जोड्ने सडक अवरुद्ध छ ।

लगातारको वर्षाको कारण जलेश्वरमा बाढी आउँदा जलेश्वर नगरपालिकासहित प्रादेशिक अस्पताल जलेश्वर, विद्युत प्राधिकरण जलेश्वर शाखा तथा सबस्टेशन, नेपाल टेलिकम, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतका कार्यालयहरुमा पानी पसेको छ ।

विद्युत् सबस्टेशनमा बाढीको पानी पसेको कारणले तीन दिनदेखि जलेश्वर क्षेत्रमा विद्युत् अवरुद्ध छ । जलेश्वरका युवा दीपेन्द्र चौधरीले शनिबार दिनभरी काटिएको बिजुली आइतबार दुई घण्टाको लागि आए पनि पुनः सबस्टेशनमा बाढीको पानी पसेपछि अवरुद्ध भएको बताउनुभयो ।

लगातारको अविरल वर्षाको कारण महोत्तरीको विभिन्न क्षेत्रमा बाढी र डुबान भए पनि आइतबार रातिदेखि पानी पर्ने क्रम रोकिएको छ । डुबान विस्तारै कम हुन थालेको छ । शनिबारदेखि लगातार परिरहेको पानीको कारणले महोत्तरीका नदीहरुमा जलस्तर बढ्नुका साथै विभिन्न ठाउँका तटबन्धहरु कटान गरेपछि बाढी जलेश्वरको बस्तीमा प्रवेश गरेको थियो ।

लगातारको पानीको कारणले जिल्लामा रहेको रातो, जंग्हा, माढा, विग्ही, गेरुकी, कुटमेश्वरी लगायतका दर्जनभन्दा नदीमा जलस्तर बढेपछि रातो नदीको रतवारमा २० मिटर बाँध कटान भएको छ । त्यसैगरी एकडारा, बलवा तथा जलेश्वर नगरपालिका ३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोष्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरेपछि जलेश्वरमा बाढी आएको चौधरीले बताउनुभयो ।

रतवाराको तटबन्ध कटानले पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको थियो । जसका कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र, जलेश्वरको अस्पताल चोक, जिरोमाइल चोक, बसस्टेण्डचोक डुबानमा परेको छ ।

बाढीको कारणले जिल्लाको सदरमुकाम जलेश्वरसँग धेरै पालिकाको सडक अवरुद्ध भएको छ । बाढीको कारण जलेश्वर बर्दिबास, जलेश्वर जनकपुर, जलेश्वर मटिहानी लगायतका क्षेत्रको सडक अवरुद्ध छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले सुगा गाउँभन्दा पूर्व रहेको लचका भएर दुई फिटभन्दा बढी पानी बगिरहेकाले जलेश्वर मटिहानी आउन पैदल यात्रीहरुलाई समस्या भइरहेको बताउनुभयो । पानी घट्ने क्रममा रहेकाले सडक चाँडै सञ्चालनमा आउने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...