जुम्लामा भालुको आतङ्क, पाँच जना घाइते

Published on

काठमाडौं । जुम्लामा असोज महिनामा मात्र भालुको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । जुम्लाको गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकामा छुट्टाछुट्टै भालुले आक्रमण गरेर मानिसलाई घाइते बनाएको हो ।

सोमबार बिहान १०ः४० बजे जुम्ला तातोपानी गाउँपालिका वडा ४ निवासी १८ वर्षीय दीपेन्द्र न्यौपानेलाई स्याउको बगैंचामा गोडमेल गर्न गएको समयमा भालुले आक्रमण गरी घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार न्यौपानेको हाल कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यता, आइतबार बिहान जुम्लाको गुठिचौर गाउँपालिका –३ गज्याङकोटकी ३८ वर्षीया बुमची कामी र उहाँकी १७ वर्षीया छोरी सिर्जना कामी भालुको आक्रमणबाट घाइते भएका छन् । आमा गम्भीर घाइते हुनुभयो भने छोरी सामान्य अवस्थामा छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, उनीहरू दुवैजना घाँस काट्न गएका बेला जङ्गली भालुले असोज १९ गते बिहान ७ः३० बजे आक्रमण गर्दा घाइते भएका हुन् । घटनापछि तत्काल स्थानीयको सहयोगमा दुवैजनालाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।

गुठिचौर गाउँपालिका ५ धिता गाउँमा दिउँसो १ बजे एक जनालाई भालुले आक्रमण गरेको छ । गुठिचौर गाउँपालिका झ्यापु धिताललाई आक्रमण गरेको छ । धितालको पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक कमल थानीका अनुसार तातोपानी ४ का दिनेश न्यौपानेको टाउको, बायाँ खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ । परिवारको आग्रहमा उहाँलाई जिल्ला बाहिर लग्ने तयारी भएको छ ।

उहाँका अनुसार गुठिचौर गाउँपालिका निवासी आमा बुमची कामीको पनि टाउको, मुखमा भालुले मासु लछारेर घाइते बनाएको छ ।

यसैगरी जुम्लाको हिमा गाउँपालिका वडा ५ निवासी ३४ वर्षका हरिचन्द्र रोकायालाई बाख्रा चराउन गएको समयमा भालुले आक्रमण गरी घाइते बनाएको छ । रोकायाको हातमा घाउ भएको र कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ । केही समय अगाडि चन्दननाथ नगरपालिका ३ मा पनि भालुले आक्रमण गरेर ११ बाख्रा मारेको थियो ।

स्थानीयवासीले वन क्षेत्रमा जङ्गली जनावरहरूको आक्रमण बढ्दैगएकाले नियमित गस्ती र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । प्रहरी र वन विभागको टोली घटनास्थल पुगेर अनुसन्धान तथा नियन्त्रण कार्यमा खटिने भएको छ ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले आजभोलि जङ्गलनजिक काम गर्न ढिला जान आग्रह गर्नुभयो । भालु बिहानै निस्कने भएकाले सचेत हुन आग्रह गर्नुभयो । उहाँले काम गर्न समूहमा जान सुझाव दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...