काठमाडौं, असोज २२ — हालैको अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट क्षति भएका सबै घरहरू प्रदेश सरकारले पुनर्निर्माण गर्ने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले क्षति भएका घरहरू पुनर्निर्माण गर्नेसहित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले इलाम, झापा र मोरङ जिल्लामा सबैभन्दा बढी क्षति भएको निष्कर्ष निकाल्दै त्यहाँका घरहरूलाई प्राथमिकतामा राखी पुनर्निर्माण कार्य थालिने जनाएको छ। घरहरूको विवरण संकलनसँगै निर्माण कार्य अघि बढाउने निर्णय पनि गरिएको छ।
साथै, बैठकले इलाम जिल्लाका सात वटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ। राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन इलाम जिल्लाको समन्वयका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिइएको छ।
त्यस्तै, सुनसरी जिल्लामा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्री भण्डारीले समन्वयको भूमिका निभाउने छन् भने झापा जिल्लामा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई समन्वयको जिम्मेवारी दिइएको छ। यी सबै टोलीहरू फिल्डमा खटिएर स्थलगत निरीक्षणसहित पुनर्निर्माण कार्यलाई तीव्रता दिनेछन्।
बैठकले चालु आर्थिक वर्षका योजना तथा बजेटको पुनरावलोकन गरी कम प्राथमिकता भएका योजनाहरूबाट खर्च कटौती गरेर पुनर्निर्माणमा लगानी गर्न कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई सबै प्रकारका बाटो तथा पूर्वाधार सेवा यथासक्य चाँडो सुचारु गर्न आफ्ना संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ।
मुख्यमन्त्री कार्कीले बैठकमा राहत तथा पुनर्निर्माण कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। विपद् पीडितका लागि व्यापक सहयोग जुटाउन नागरिक समाज, उद्योगी, व्यवसायी, राजनीतिक दल, कर्मचारी र वित्तीय संस्थालाई आह्वान गर्ने निर्णय पनि बैठकमा गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख कमल थापाले जानकारी दिनुभयो।

