काठमाडौं — हुलाक सेवा व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको जिल्ला हुलाक कार्यालय रौतहटका हुलाक अधिकृत देवनाथ यादवले बताएका छन्।
१५१औं विश्व हुलाक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अधिकृत यादवले हुलाक सेवा अझै पनि २१औं शताब्दी अनुसार नयाँ प्रविधिमा रूपान्तरण हुन नसकेको उल्लेख गर्दै, सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्रै यसलाई उचाइमा पु-याउन सकिने बताएका हुन्।
उहाँले नयाँ प्रविधिमा हुलाक सेवा ढल्न नसकेकोले कुरियर र ट्रान्सपोर्ट सेवाले हुलाकको स्थान ओगटेको उल्लेख गर्दै भारतमा हुलाकमार्फत टिफिन बक्ससम्म पुर्याइने उदाहरण दिँदै नेपालमा पनि यस्तो सेवा सम्भव रहेको बताए। प्रविधि र कर्मचारी तालिममार्फत हुलाकलाई पुनः जनविश्वासको केन्द्र बनाउन सकिनेमा उहाँले जोड दिनुभयो।
हुलाक अधिकृत यादवका अनुसार हाल रौतहटमा चिठीपत्रको ओसारपसार महेन्द्र राजमार्गमार्फत हुँदै आएको छ, जसले गर्दा समय लाग्ने समस्या रहेको छ। तर कार्तिक महिनादेखि हुलाकी सडकमार्फत डांक सेवा सञ्चालन हुने र यसका लागि बाराको हरनैया र सर्लाहीको धनकौलसम्म इ–रिक्सा प्रयोग गरिने तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रमका अवसरमा कार्यालय परिसरमा सरसफाइ तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त समूहलाई क्रमशः रु ४,०००, रु २,८००, रु २,००० र रु १,२०० का दरले पुरस्कार वितरण गरिएको थियो।
हुलाक सेवा विभागको निर्देशनमा कर्मचारीहरूको मनोबल वृद्धि र सेवा प्रतिको लगाव बढाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको अधिकृत यादवले बताए।
कार्यक्रमसँगै झण्डै ३० वर्ष सेवा गरेका कर्मचारी राम अशिष साहको अनिवार्य अवकाश अवसरमा बिदाइ कार्यक्रम समेत गरिएको थियो।
‘Post for People; Local Service Global Reach’ भन्ने नारासहित १५१औं विश्व हुलाक दिवस हाल विश्वभर विविध कार्यक्रममार्फत मनाइँदैछ।

