जेनजीको आवाज मेरो पनि आवाज हो: प्रचण्ड

Published on

काठमाडौं , असोज ३० – नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले हालैको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै “जेनजी युवाहरूको आवाज मेरो पनि आवाज हो” भन्नुभएको छ।

गृह जिल्ला चितवनमा जेनजी आन्दोलनपछि पहिलोपटक पुगेका प्रचण्डले बिहीबार बिहान आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै, जेनजी आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा व्याख्या गर्नुभयो। उहाँले युवाहरूको आन्दोलन माओवादीले विगतदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियानसँग मिल्दोजुल्दो भएको बताउँदै गौरवको विषय भएको उल्लेख गर्नुभयो।

सरकारको लापरबाहीले जनधनको क्षति

संयोजक प्रचण्डले २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको दोष तत्कालीन सरकारको लापरबाहीठूला दलहरूको दम्भले भएको दाबी गर्नुभयो। आन्दोलन शान्तिपूर्ण हुँदाहुँदै पनि सुरक्षा संयन्त्रको असावधानीले स्थिति हिंसात्मक बनेको भन्दै उहाँले आलोचना गर्नुभयो।

अन्तर्राष्ट्रिय समुदायले समेत आन्दोलनलाई शान्तिपूर्ण मानेको स्मरण गराउँदै, सरकारले संवेदनशीलतापूर्वक प्रतिक्रिया नदिँदा ठूलो क्षति भएको प्रचण्डको भनाइ थियो।

आन्दोलनलाई वैधानिकता दिने पहिलो पार्टी माओवादी

प्रचण्डका अनुसार २३ गते घटनाका बेला आफू मध्यपहाडी लोकमार्गको यात्रामा रहेको र सोही रात काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको बताउनुभयो। बैठकमा माओवादी केन्द्रले सबैभन्दा पहिला आन्दोलनका मृतकहरूलाई सहिद घोषणा, उच्चस्तरीय छानबिन समिति गठनको माग तथा प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय गरेको उहाँको दाबी छ।

निर्वाचनबाहेक अब विकल्प छैन

सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिँदा सुरक्षा जोखिम देखिएपछि आफैंले सुरक्षा खोजेर सेनाको समन्वयमा सिंहदरबारमै सुरक्षित रहनुपरेको प्रसंग उल्लेख गर्दै, प्रचण्डले देशको वर्तमान परिस्थितिमा निर्वाचनबाहेक अर्को विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँले सबै दलहरूलाई निर्वाचनका लागि तयार रहन आह्वान गर्दै कार्यकर्तालाई एकताबद्ध हुन निर्देशन दिनुभयो।

वाम एकता निष्कर्षतिर, माओवादी फेरि अघि आउने दाबी

पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि चलिरहेको वाम एकता अब निष्कर्षतर्फ उन्मुख भएको जानकारी दिनुभयो। पहिलो चरणमा समाजवादी मोर्चाभित्र एकता हुने र दीर्घकालीन लक्ष्य एमालेसम्मको वाम शक्तिको एकीकरण रहेको खुलासा गर्नुभयो।

पार्टीको भविष्यप्रति आशावादी देखिएका प्रचण्डले देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा ल्याउने सम्भावना उच्च रहेको भन्दै पार्टी फेरि जनताको विश्वास प्राप्त गरेर मूलधारको शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...