काठमाडौं, बाजुराको बुढीगंगा नगरपालिकाले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूको सेवा कार्तिक १ गतेदेखि अन्त्य गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको ४९ औँ कार्यपालिका बैठक तथा चालु आर्थिक वर्षको तेस्रो बैठकले नगर र वडास्तरमा कार्यरत झन्डै ८० जना अस्थायी कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो।
नगरप्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष हेमराज जैशीका अनुसार संघीय र प्रदेश सरकारको निर्देशनअनुसार पालिकाले यस्तो निर्णय गरेको हो। साथै, कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने प्रस्तावसमेत पारित गरेको छ।
हाल बुढीगंगा नगरपालिकाका १० वटै वडामा कार्यरत ती अस्थायी कर्मचारीहरूलाई विकास बजेटबाट तलब दिइँदै आएको थियो। कर्मचारी हटाउने निर्णयसँगै पालिकाको दैनिक सेवा प्रवाहमा केही असर पर्न सक्ने आँकलन गरिएको छ।
यद्यपि, कार्यपालिका बैठकले स्थायी दरबन्दीमा रहेका कर्मचारीहरूमार्फत नियमित सेवा निरन्तर रहने स्पष्ट पारेको छ।

