काठमाडौं, कात्तिक १ – चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत गाईघाटमा शनिबार बिहानै भएकाे सवारी दुर्घटनामा सात वटा सवारी साधन एकआपसमा ठोक्किँदा हालसम्म १९ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्धार कार्य जारी रहेकाले घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत गाईघाटमा बिहान ७ः१५ बजेको समयमा बा ४ ख ७४२० नम्बरको यात्रुबाहक बस र ना ८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएपछि पछि रहेका अन्य पाँच सवारी साधन पनि एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, दुर्घटनामा संलग्न अन्य सवारी साधनहरूको विवरण संकलन भइरहेको छ भने घटनाबारे थप जानकारी आउन बाँकी छ।
घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिने क्रम जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा उद्धार तथा ट्राफिक व्यवस्थापनका कार्यहरू चलिरहेका छन्।

