काठमाडौं, कार्तिक २
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “निर्वाचनको तयारी द्रुत गतिमा भइरहेको छ। सहज र समन्वयित निर्वाचनका लागि सबै पक्षले जिम्मेवारी र सहकार्य देखाउनुपर्नेछ।”
शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा निर्वाचन तयारी र सुरक्षा विषयमा गम्भीर छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीका अनुसार, सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा सुनिश्चित गर्न तयार रहेको जानकारी दिएका छन्। साथै चुनावी वातावरण बनाउन राजनीतिक तहबाट पहल भएको र राजनीतिक दलहरूसँग संवाद पनि सुरु भइसकेको छ।

