काठमाडौं, कात्तिक ४
अपाङ्गता भएका पर्यटकहरूको सहजता र पहुँच सुनिश्चित गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अपाङ्गता मैत्री पदमार्ग निर्माणको उद्देश्यसहित विशेष पदयात्रा सुरु गर्न लागिएको छ। अन्नपूर्ण गाउँपालिका–नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्ग समावेशी पर्यटन प्रवर्धनको केन्द्र बन्ने लक्ष्यका साथ पदयात्रा आयोजना गरिँदैछ।
पदयात्राको आयोजना अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालले गर्न लागेको हो। सञ्जालका अध्यक्ष विशाल विकका अनुसार कात्तिक ५ देखि ९ गतेसम्म ८ जना अपाङ्गता भएका व्यक्तिहरुको टोली मौरिस हर्जोग पदमार्ग हुँदै अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा गर्नेछ।
अध्यक्ष विकका अनुसार, “यस पदयात्राबाट अपाङ्गता भएका व्यक्तिहरूले पनि हिमाली पर्यटनको अनुभव लिन सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ। साथै, अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गको समावेशी पर्यटन प्रवर्धनमा समेत योगदान पुग्नेछ।”
चार हजार एक सय ९० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर अपाङ्गता भएका व्यक्तिहरुको पदयात्राको माध्यमबाट समावेशी पर्यटनमा नयाँ अध्यायको सुरुवात हुने अपेक्षा गरिएको छ।
नारच्याङको बेंसी गाउँदेखि दुई घण्टा सवारी यात्रा गरेर पुगिने हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग दुई दिनको पैदल यात्रामा आधार शिविरमा पुर्याउँछ। छोटो दुरी, रोमाञ्चक भूगोल, झरना, हिमश्रृङ्खला, दुर्लभ वनस्पति र वन्यजन्तुहरूको अवलोकनसहितको यो पदमार्ग हाल आन्तरिक पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
अन्नपूर्ण गाउँपालिकाले पदयात्रालाई सहज बनाउन होटल, रेष्टुराँ, सार्वजनिक शौचालय, खानेपानी तथा पदमार्ग मर्मत–सम्भार जस्ता पूर्वाधारको विकासमा ध्यान दिएको छ। पदमार्गमा पर्ने फुतफते झरना, पञ्चकुण्ड ताल र हिमाली सौन्दर्यले गर्दा यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको छ।

