काठमाडौँ, कात्तिक ५
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरले तिहारको अवसर पारेर विद्यालय परिसरमै उत्पादन गरिएको सयपत्री फूल बिक्री वितरण गरेको छ।
विद्यालयले खेर गइरहेको करिब दुई कट्ठा जमिनको सदुपयोग गर्दै शिक्षक र विद्यार्थीको सहकार्यमा गत वर्षदेखि फूलखेती सुरु गरेको हो। यसले विद्यालयलाई अतिरिक्त आम्दानीको स्रोत त बनेको छ नै, विद्यार्थीहरूलाई कृषि र उद्यमशीलताको व्यवहारिक ज्ञानसमेत दिएको विद्यालयका प्रधानाध्यापक शङ्कर चन्दले जानकारी दिनुभयो।
गत वर्ष करिब डेढ क्विन्टल फूल उत्पादन गरेर वितरण गरिएको भए पनि यस वर्ष बीउ राम्रो नभएका कारण उत्पादनमा केही कमी आएको छ। हालसम्म करिब ५० किलो फूल उत्पादन भइसकेको छ, जसको अधिकांश भाग शिक्षक, विद्यार्थी र अभिभावकले नै प्रयोग गरेका छन्।
तिहारको समयमा बजारमा फूलको अभाव भइरहेको बेला विद्यालयको फूलखेती स्थानीय उपभोक्ताका लागि वैकल्पिक स्रोत बनेको छ। उपभोक्ताहरू अझै पनि विद्यालयमै फूल खोज्न आइरहेका छन्। यो वर्ष फूल प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भइरहेको छ।
नेपालगञ्ज–१९ का वडाध्यक्ष परसराम कुर्मीका अनुसार विद्यालयले खाली जमिनको सदुपयोग गर्दै विद्यार्थीलाई व्यवहारिक शिक्षासँगै आर्थिक सशक्तिकरणमा समेत प्रेरणा दिने काम गरेको छ, जुन अन्य विद्यालयका लागि पनि उदाहरणीय हुन सक्छ।

