काठमाडौँ, कात्तिक ५
रौतहटको चन्द्रनिगाहपुरमा कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ। २०७२ सालदेखि निरन्तर हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि भाइटिकाको अघिल्लो दिन बुधबार भव्य रूपमा सम्पन्न गरिएको हो।
नागरिक समाज चन्द्रपुरका अगुवा विमल भट्टराईका अनुसार यस्ता सांस्कृतिक गतिविधिले समुदायबीच एकता, सद्भाव र मौलिक पहिचान बलियो बनाउँछ। अर्का अगुवा महारत्न बिष्टले हराउँदै गएको परम्परागत संस्कृति पुनः जीवित राख्ने प्रयासस्वरूप कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।
कार्यक्रममा ढाका टोपी र गम्छा लगाएर युवा देखि वृद्धसम्मको सक्रिय सहभागिता रहेको थियो। नाचगान र देउसी भट्याउँदै सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिका–६ का वडा अध्यक्ष सहदेव केसीले पनि सहभागिता जनाउनुभएको थियो।
वडा अध्यक्ष केसीका अनुसार यो कार्यक्रम स्थानीय कला, संस्कृति संरक्षण र सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।
यसले परम्परा र आधुनिकता बीच सन्तुलन कायम गर्दै चन्द्रनिगाहपुरको सांस्कृतिक चेतनालाई जीवन्त बनाइरहेको सहभागीहरूको धारणा रहेको छ।

