काठमाडौँ । नेपाल संवत् ११४६ को अवसरमा बुधबार बसन्तपुरमा विविध कार्यक्रमसहित नयाँ वर्ष मनाइएको छ। नेवार समुदायले मौलिक सम्वत्का रुपमा मनाउने नेपाल संवत् सुरु भएको दिनको सम्मानमा र्याली, नाचगान र सांस्कृतिक प्रस्तुतिहरू गरिएको हो।












बसन्तपुरबाट सुरु भएको र्याली काठमाडौँका भित्री शहर परिक्रमा गर्दै सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न खलः पुच, संघ-संस्था र स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको थियो।
नेपाल संवत्को सुरुआत राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (ई.स. ८८०) मा गरिबको ऋणमोचन गरी गर्नुभएको मानिन्छ। यो सम्वत् लिच्छविकालीन राजा राघवदेवको शासनकालदेखि पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रूपमा चलाइएको थियो भन्ने दाबी डा. त्रिरत्न मानन्धरले गर्नुभएको छ। नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताको अभियान भने वि.सं. २००७ मा प्रजातन्त्रको स्थापनापछि सुरु भएको हो। नेपाल सम्वत् नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायतका क्षेत्रका नेवार समुदायले विशेष उत्सवका साथ मनाउने परम्परा रहेको छ। गोरखापत्र

