काठमाडौं । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–६ मा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ र छ जना घाइते भएका छन्।
महाकुलुङ गाउँपालिकाबाट माप्य दूधकोशी गाउँपालिकातर्फ आइरहेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप बिहीबार साँझ दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप ब्रेक फेल भएर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
मृतकहरूमा महाकुलुङ गाउँपालिका–३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राई, महाकुलुङ–४ का १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई, सजना राई र १० वर्षीय उमेश राई रहेका छन्।
जिपमा सवार ११ जनामध्ये दुई जना सकुशल रहेका प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने मृतकहरूको शव पोष्टमार्टमका लागि महाकुलुङ अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

