काठमाडौं । माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप बिहीबार साँझ माप्य दूधकोशी गाउँपालिका–६ को भीरमा खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप ब्रेक फेल भएर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
मृत्यु हुनेमा महाकुलुङ गाउँपालिका–३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन्।
त्यस्तै, घाइते हुनेमा महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राई, महाकुलुङ–४ का १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई, सजना राई र १० वर्षीय उमेश राई रहेका छन्।
जिपमा ११ जना सवारमध्ये दुई जना सकुशल रहेका प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ भने मृतकहरूको शव पोष्टमार्टमका लागि महाकुलुङ अस्पताल पठाइएको छ।

