काठमाडौं । सल्यानको शारदा नदी किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ। शारदा नगरपालिका–१२ गाईनेटानजिक पानीमा तैरिरहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार मृत महिलाको शरीरको आधा भागमा कपडा नभएको र विभिन्न भागमा माटो र हिलो लागेको अवस्था थियो। अहिलेसम्म मृतकको नाम, थर र ठेगाना खुलेको छैन।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शीतलपाटीबाट टोली खटाइएको थियो। प्रहरी टोलीले आवश्यक मुचुल्का कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

