काठमाडौं । नेपालमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला सुनको मूल्य दुई लाख ४१ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि कात्तिक ३ गते प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार, आइतबार सुन तोलामा ११ हजार ६ सय रुपैयाँले सस्तो भएको हो।
अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते सुनको मूल्य करिब पाँच प्रतिशतले घटेको थियो। असोज ३ गते प्रतिऔंस ४,३५८ अमेरिकी डलरसम्म पुगेको सुन हाल ४,१११ डलरमा झरेको छ। (एक औंस बराबर २.४३ तोला हुन्छ।)
नेपालमा सार्वजनिक बिदाका कारण कात्तिक ४ गतेपछि मूल्य समायोजन हुन नसकेकाले यसको प्रभाव आइतबार मात्रै देखिएको महासंघले जनाएको छ। असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला २६५ रुपैयाँले घट्दै तीन हजार १५ रुपैयाँमा झरेको छ। तिहारअघि प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी असोज ३१ गते हालसम्मकै उच्च मूल्य तीन हजार ३५० रुपैयाँमा पुगेको थियो।

