काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ फल्लेघरमा आइतबार बिहान जिप दुर्घटना भएको छ। ढोरपाटन उपत्यका घुमेर फर्किँदै गरेको लु ३ च ६८४७ नम्बरको स्कारपियो जिप दुर्घटनामा पर्दा दुई जना सामान्य घाइते भएका छन्। घाइतेहरूको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन।
प्युठान हुँदै ढोरपाटन घुम्न आएको टोली फर्कने क्रममा दुर्घटनामा परेको जनाइएको छ। जिपमा राष्ट्रिय गुठि संस्थानका अध्यक्ष र नेपाल सरकारका दुई जना सहसचिवसहितको टोली रहेको स्थानीय बिरबहादुर विश्वकर्माले जानकारी दिनुभयो।
घटनाबारे सूचना पाएसँगै उद्धार तथा थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। जिप सालझण्डी–ढोरपाटन सडक खण्डमा पल्टिएको बताइएको छ।

