काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा आज पोथी गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत पूर्वी नवलपरासीको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली नगरपालिका वडा १७ को आँपको बगैंचा मा अन्दाजी ३०-३२ वर्षको पोथी गैंडा फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।
सूचना अधिकारी थापाका अनुसार बिगत छ सात वर्षदेखि आँपको बगैंचालाई बास स्थान बनाउदै आएको उक्त गैंडा केही समय देखि बिरामी थियो । शिसवार उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नेत्रबहादुर पाण्डेले बिरामी र बूढो रहेको उक्त गैंडालाई यस अघि पनि पटक पटक राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकको टोलिले सोही आँपको बगैंचामा आएर उपचार गरेका जानकारी दिनुभयो । मृत फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।
योसँगै चितवन राष्ट्रिय निकुञ्जमा गत साउन यता पाँच वटा गैंडाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैंडाको मृत्यु भएको थियो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ वटा गैंडा छन् ।गोरखापत्र

