काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोरङ जिल्लाको विराटनगर–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन्। दुर्घटनामा उहाँकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको थियो। दुर्घटनापछि उद्धार गरिएको तीनै जनालाई आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचारका लागि लगिएकोमा कार चालकसमेत रहेका ओमबहादुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
अन्य दुई जना घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।

