काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले हाल केही सञ्चारमाध्यममा प्रकाशित गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिएको भन्ने समाचारहरूलाई पूर्णतः भ्रमपूर्ण र निराधार भएको स्पष्ट गरेको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ कि मन्त्री नियुक्ति वा हटाउने अधिकार प्रधानमन्त्रीकै अधिकार क्षेत्रभित्र पर्छ, र यस्तो विषयमा कुनै दबाब वा बाह्य प्रभावको सम्भावना नै रहँदैन।
विज्ञप्तिमा जनाइएको छ, “जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार वर्तमान सरकार गठन भएको हो। असामान्य परिस्थितिमा जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई सफल बनाउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर प्रयासरत रहनुभएको छ, जुन सबैलाई विदित छ।”
साथै, प्रधानमन्त्रीको सचिवालयले हालको संवेदनशील अवस्थामा यस्ता अफवाहहरू नफैलाउन र नपत्याउन सबै पक्षलाई आग्रह गरेको छ।


