काठमाडौं । ‘मोन्था’ चक्रवातको प्रभावका कारण बिहीबार बिहानदेखि देशका अधिकांश भागमा वर्षा भइरहेको छ, जससँगै तापक्रममा पनि गिरावट आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशका धेरैजसो शहरहरूमा पानी पर्ने सम्भावना रहेको छ। वर्षाको प्रभावले काठमाडौँ उपत्यका र धनगढीसहित विभिन्न स्थानको तापक्रम घटेको बताइएको छ।
महाशाखाले जारी गरेको विवरणअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने सबैभन्दा कम तापक्रम जोमसोममा एक डिग्री सेल्सियससम्म झर्ने सम्भावना छ।
अन्य स्थानमा डडेलधुरामा २२, दिपायलमा २९, वीरेन्द्रनगरमा २५, नेपालगञ्जमा ३०, जुम्लामा २०, पोखरामा २४ र भैरहवामा २९ डिग्रीसम्म तापक्रम रहने अनुमान छ। त्यसैगरी, सिमरामा २८, काठमाडौँमा २१, ओखलढुङ्गामा १९, धनकुटामा २२, विराटनगरमा २८, धरानमा २७, जनकपुरमा २८, जिरीमा १९ र ताप्लेजुङमा २१ डिग्री तापक्रम रहने महाशाखाले जनाएको छ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार ‘मोन्था’ चक्रवातको असर शनिबार बिहानसम्म रहन सक्ने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा र अन्य प्रदेशमा मध्यम वर्षा हुने सम्भावना छ।
उहाँका अनुसार शनिबार बिहानदेखि मात्रै मौसममा सुधार आउने अनुमान गरिएको छ। आगामी २४ घण्टाभित्र काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा हुने भए पनि सबै स्थानमा लगातार वर्षा नहुने स्पष्ट गरिएको छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।


