हरिबोधनी एकादशीका अवसरमा देवघाटधाममा दर्शनार्थीको घुइँचो

Published on

काठमाडौं । आज (शनिबार) हरिबोधनी अर्थात् ठुला एकादशीको पावन अवसरमा देशभरका तीर्थयात्रीहरूको प्रमुख गन्तव्य देवघाटधाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

भगवान् विष्णुको शयनबाट जागरण हुने दिनका रूपमा मनाइने यस पर्वमा स्नान, दान र पूजाआराधनाका लागि भक्तजनहरू बिहान सबेरैदेखि नै गण्डकी र कृष्णगण्डकी नदीको संगमस्थलमा पुगेर पूजापाठमा तल्लीन भएका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीका अनुसार देवघाटधाम नेपालको प्रमुख तीर्थस्थल भएकाले प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन यहाँ देश–विदेशका श्रद्धालुहरूको असाध्यै भीड लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “आजको दिन भगवान् विष्णु शयनबाट जाग्रत हुनुहुन्छ भन्ने धार्मिक विश्वास छ । स्नान र दान गरेर आत्मशुद्धि, आस्था र आध्यात्मिक जागरण प्राप्त हुन्छ भन्ने भावनासँग यो पर्व गासिएको छ ।”

त्यस्तै, दमौलीस्थित व्यास अन्न क्षेत्रका संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले हरिबोधनी एकादशीलाई देवताको जागरण र धर्ममार्गमा मन, वचन र कर्म शुद्ध पार्ने अवसरको रूपमा वर्णन गर्नुभयो । उहाँले भन्नुभयो, “दमौलीमा उत्तरतर्फ बग्ने मादी नदीको संगमस्थल विश्वमै दुर्लभ धार्मिक स्थल हो । उत्तरमुखी नदी भएकाले गर्दा  यस स्थानमा स्नान र पूजा विशेष फलदायी हुने विश्वास प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएको छ ।”

व्यास क्षेत्र पराशर ऋषिको तपोभूमि र महर्षि वेदव्यासको जन्मस्थलका रूपमा प्रसिद्ध छ, जहाँ आज पनि मादी र सेतीको संगममा हजारौं भक्तजन पूजापाठमा तल्लीन भएका देखिन्छन् । यसैबिच, वरिष्ठ आयुर्वेद चिकित्सक डा. लक्ष्मीकान्त चापागाईंले यस दिन गरिएको स्नानलाई केवल धार्मिक होइन, शारीरिक र मानसिक शुद्धिको प्रतीकका रूपमा लिनुपर्ने बताउनुभयो । देवघाटधाममा भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र समितिले संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा पारेका छन् । हाल हिउँदे वर्षासँगै नदीको बहाव बढेको हुँदा तनहुँ, चितवन र नवलपुर प्रशासनले स्नानस्थलमा विशेष सतर्कता अपनाएको समितिले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...