काठमाडौं । धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ करिब ७ बजे ठक्कर दिएको थियो।
दुर्घटनामा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–१ का ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उनकी ३५ वर्षीया श्रीमती निशा मगर, सोही स्थानका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले पुष्टि गरेको छ।
घाइते हुनेमा धनबहादुरकी १४ वर्षीया छोरी सितल मगर र रमेश मगरका ९ वर्षीय छोरा रोशन मगर रहेका छन्। दुवै जनाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार चिकित्सकले चार जनालाई मृत घोषणा गरेका हुन्। घटनापछि बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

