काठमाडौं । गुल्मीको मदन भण्डारी राजमार्गअन्तर्गत इस्मा गाउँपालिका–१ स्थित भराहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तम्घास–सिमलटारी सडकखण्डमा झरनाबाट तम्घासतर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका मोहनसिंह बस्नेतले चलाएको लु ५६ प ८४२६ नम्बरको २०० सि.सि. मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनामा सोही स्थानका सरोज बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल चालक मोहनसिंह बस्नेतलाई प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।

