राष्ट्रिय सभा सदस्य निर्वाचन : पुस २० गतेपछि उम्मेदवारी दर्ता

Published on

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ । जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ । निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि आयोगले कार्यतालिका बनाएको जानकारी दिनुभयो । आवश्यकता अनुसार आयोगले कार्यतालिकामा फेरबदल पनि गर्न सक्ने छ । उहाँले भन्नुभयो, “आयोगको आन्तरिक कार्यलाई व्यवस्थित बनाउन कार्यतालिका स्वीकृत भएको हो । दलहरूसँगको परामर्शमा निर्वाचन कार्यक्रम पछि प्रकाशन हुने छ ।”

कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्ने छ । दल दर्ताका लागि आयोगले एक साताको समयसीमा तोक्दै आएको छ । दर्ताका लागि प्राप्त निवेदनउपर छानबिन गरी आयोगले मङ्सिर दोस्रो साता दर्ता स्वीकृत र निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । आयोगले स्वीकृत गरेको कार्यतालिकाबमोजिम निर्वाचन कार्यक्रम मङ्सिर दोस्रो साताभित्र प्रकाशन गरिने छ । त्यसअघि निर्वाचन आयोगले मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान, मौज्दात विश्लेषण तथा अनुमानलगायतका काम कात्तिकभित्रै टुङ्ग्याउने छ । मतदाता नामावली भने पुस पहिलो साता सार्वजनिक गरिने छ ।

सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचकमण्डलले राष्ट्रिय सभाका सदस्य पदका लागि मतदान गर्ने कानुनी व्यवस्था छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको हो । कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुईरदुई, लुम्बिनीबाट तीन सदस्य निर्वाचित हुने छन् । एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् ।

पदावधि सकिनुभन्दा करिब ४० दिनअघि निर्वाचन हुन लागेको हो । आयोगको कार्यतालिकामा पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण, पुस दोस्रो साताभित्र निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुने छ । पुस अन्तिम साता निर्वाचन कार्यक्रमसँगै मतपत्र छपाइलगायतका काम समानान्तर रूपमा सञ्चालन हुने छन् । माघ पहिला साता प्रचारप्रसार अवधि रहने र मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुने छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को गत कात्तिक १२ गतेको बैठकले माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने मिति तोकेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने उल्लेख छ । सरकारले मिति तोकेलगत्तै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको आन्तरिक तयारी सुरु गरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...