त्रिभुवन विमानस्थलमा चार घण्टा उडान ठप्प

Published on

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेका बत्तीको संयन्त्र (एयरफिल्ड लाइटिङ सिस्टम) मा समस्या आएपछि चार घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा अवरुद्ध भयो । बेलुका करिब ६:०० देखि बन्द उडान राति १०:०० बजेतिर पुनः सञ्चालन भएको थियो । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार धावनमार्गको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि नोटिस फर एयरम्यान (नोटाम) जारी गरेर मर्मतपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । 

शनिबार काठमाडौँमा घाम अस्ताएसँगै विमानस्थलको धावनमार्ग अँध्यारो हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका दर्जन बढी उडान प्रभावित भएका थिए । यस विमानस्थलमा बेलुका ५:१६ बजेदेखि प्रविधिमा आधारित रहेर उडान अवतरण हुँदै आएको छ । काठमाडौँमा जहाज अवतरण हुन नसकेपछि कतार एयरवेजको जहाज झन्डै दुई घण्टा आकाशमा फन्को मारेर बङ्गलादेशको ढाका डाइभर्ट भयो । फ्लाई दुबईको जहाज भारतको लखनउ, कोरियन एयरको जहाज दिल्ली डाइभर्ट हुन पुगे ।

धावनमार्गमा रहेका बत्तीको संयन्त्र प्रणालीमा सेन्टरलाइन, छेउछाउका बत्ती तथा विमानलाई उडान र अवतरणमा सहजीकरण गर्ने एप्रोच लाइट पर्छन् । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार दिनभर आँखाले हेरेर हुने (भिएफआर) उडान सञ्चालन भए पनि बेलुकादेखि सञ्चालन हुने उपकरणमा आधारित (आइएफआर) उडानका लागि आवश्यक धावनमार्गका बत्तीमा आएको समस्याका कारण उडान अवरुद्ध भएको थियो । उहाँले भन्नुभयो, “हवाईजहाजलाई राति वा न्यून दृश्य क्षमतामा सुरक्षित अवतरण र उडान गर्न सहयोग पु¥याउने बत्तीको संयन्त्रमा समस्या आएपछि प्रविधिमा आधारित रहेर हुने उडान चार घण्टा प्रभावित भयो ।”

 किन सधैँ विदेश डाइभर्ट ? 

हाल मुलुकभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । तर कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भने अझै भारत वा उडान भरेर आएकै गन्तव्यमा फर्किने बाध्यता कायमै रहेको छ । भैरहवा र पोखरामा रहेका विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प बन्न नसक्दा भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ डाइभर्ट हुँदै आएका छन् । शनिबार पनि यही क्रमले निरन्तरता पाएको छ ।

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमान भारतको पटना र लखनउ अवतरण हुने गरेका थिए । हाल देशमा तीन विमानस्थल तयारी अवस्थामा रहँदासमेत समस्या ज्यूँका त्यूँ छन् । आफ्नै दुई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत पाइलटले उडान भर्नुअघि नै जहाज अवतरण गर्ने वैकल्पिक विमानस्थल खुलाउने प्रावधान हुन्छ । विदेशी एयरलाइन्सले नेपालका अन्य विमानस्थललाई विकल्पमा नराख्दा र नेपालमा हवाई इन्धन महँगो हुने भएकाले जहाज भारततर्फ डाइभर्ट हुने क्रमले निरन्तरता पाइरहेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । भैरहवा वा पोखरा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग विदेशी हवाई कम्पनीलाई सर्त अघि सार्नुपर्ने उहाँको भनाइ छ । प्राधिकरणले भने नियम अनुसार हवाई कम्पनीलाई वैकल्पिक विमानस्थलका रूपमा यहीँ अवतरण गर्नु पर्छ भन्ने बाध्य गराउन नपाइने जनाएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...