काठमाडौं । कर्णाली प्रदेश सरकारले फोहोर व्यवस्थापनका लागि ‘थ्री आर’ (Reduce, Reuse, Recycle) योजना कार्यान्वयन गर्न लागेको छ। स्थानीय तहहरूमा फोहोर व्यवस्थापन ठूलो चुनौती बनेपछि सरकारले यो महत्वाकांक्षी र रणनीतिक पहल अघि सारेको हो।
प्रदेश सरकारका अनुसार ‘थ्री आर’ योजनामार्फत फोहोरमैला व्यवस्थापनमा दिगो समाधान खोज्ने तयारी गरिएको छ। ‘रिड्युस’ अन्तर्गत फोहोर उत्पादन घटाउने, ‘रियुज’ अन्तर्गत पुनःप्रयोग गर्न सकिने वस्तुहरूको प्रयोग बढाउने र ‘रिसाइकल’ अन्तर्गत प्रशोधन गरी पुनः उपयोग गर्न सकिने फोहोरलाई व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ।
कर्णालीका प्रमुख सहरहरूमा फोहोर व्यवस्थापन दिनानुदिन गम्भीर बन्दै गएको छ। विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगरमा यो समस्या झन् विकराल रूप लिएको छ। त्यसैले फोहोर व्यवस्थापनमा ‘थ्री आर’ रणनीति लागू गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता पदम देवकोटाका अनुसार प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्दै स्थानीय तहलाई एकीकृत प्रणालीमा जोड्ने गरी योजना अघि बढाउँदैछ। अव्यवस्थित फोहोर विसर्जन नियन्त्रण, जनस्वास्थ्यमा पर्ने असर घटाउने र महामारीजन्य रोग रोकथामका लागि अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ।
सरोकारवालाहरूका अनुसार, प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाउनुपर्ने र कुन पालिकाले कस्तो सहयोग पाउने भन्ने मापदण्ड तय गर्नुपर्ने आवश्यकता छ। साथै, प्राविधिक मार्गदर्शनका लागि एक समर्पित इकाइ स्थापना गर्नुपर्ने सुझाव पनि आएको छ।
वीरेन्द्रनगरमा जनघनत्व र सवारीसाधनको चाप बढ्दो भए पनि सरसफाइ र फोहोर व्यवस्थापनमा नगरपालिकाको ध्यान नपुगेको स्थानीयवासीहरू बताउँछन्। जीर्ण सडक, अव्यवस्थित फुटपाथ र जथाभाबी फोहोर फाल्ने प्रवृत्तिका कारण बस्तीहरू दुर्गन्धित बन्न थालेका छन्।
वराहताल गाउँपालिका–१० सिमलचौरका स्थानीय दुर्गबहादुर लामिछानेका अनुसार, नगर क्षेत्रबाट फोहोर ल्याएर बस्तीनजिकै फाल्ने र जलाउने कार्यले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। त्यस्तै, वराहताल–१० का वडाध्यक्ष हरिलाल सलामीले वीरेन्द्रनगरको फोहोरले आफ्नो वडामा दुर्गन्ध फैलाएको र नगरपालिकाले समस्या समाधानमा उदासीनता देखाएको आरोप लगाउनुभयो।

