पोखराका सडक छिट्टै ताररहित हुँदै

Published on

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै हल्लन चोकसम्मका तार जमिनमुनि बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले तार भूमिगत गर्ने काम यही आर्थिक वर्षभित्र सक्ने गरी भइरहेको दाबी गर्नुभयो । 

सुवेदीले भन्नुभयो, “२०२६ जुन ३० सम्म परियोजनाको म्याद छ । यही गतिमा काम जारी रहे पोखरामा तार भूमिगत गर्ने काम तोकिएको अवधिमा सम्पन्न हुने छ ।” पोखरा जस्तै भरतपुरमा पनि तार भूमिगत गर्ने कार्य भइरहेको छ । पोखरामा ६५ प्रतिशत र भरतपुरमा ७५ प्रतिशत जति काम सम्पन्न भएको दाबी उहाँले गर्नुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म तार भूमिगतको काम सकिएको छ । 

यो क्षेत्रका पाँच सय जति घरमा भूमिगत तारबाट बिजुली बलिसकेको छ । जिरो किमीदेखि जरेबरसम्म विस्तारको काम बाँकी रहेकाले लेकसाइडमा भने तार भूमिगत भइसके पनि बिजुलीका पोल हटाउन सकिएको छैन । अहिले जिरो किमीलाई केन्द्र बनाएर सिर्जना चोक हुँदै पृथ्वी चोकमा काम हुँदै छ । त्यसै गरी सिर्जना चोकबाट जरेबरसम्म पनि काम हुँदै छ । 

आयोजना प्रमुख सुवेदीले भन्नुभयो, “यो बिचको खण्डको काम सकिनेबित्तिकै लेकसाइडमा पनि भूमिगत तारबाटै बिजुली बल्ने अवस्था हुने छ ।” लेकसाइडमा सबै जसो सडक जिरो किमीबाट बागलुङ जाने राजमार्गको मालेपाटनसम्म पनि काम भइसकेको छ । 

तार भूमिगत भइसकेपछि पोखराका छ हजार घरले बत्ती बाल्न पाउने छन् । एसियाली विकास बैङ्कको दुई अर्ब ५० करोड ऋण सहयोगमा चलेको परियोजनाको ठेक्का भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाएको छ । विद्युत्सँगै टेलिफोन, केबुल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर बिछ्याउने काम पनि भइरहेको छ । प्राधिकरणको कार्यविधि स्पष्ट नहुँदा टेलिफोन, केबुल र इन्टरनेट भने भूमिगत प्रणालीबाट सुरु भएका छैनन् । यो आयोजनाको पोखरा खण्डको बजेट एक अर्ब ३० करोड रुपियाँ रहेको छ ।

पोखरा वितरण केन्द्र अन्तर्गत विद्युत्का एक लाखभन्दा बढी ग्राहक रहेको वितरण केन्द्र प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । प्राविधिक कारण र भौगोलिक अवस्थाले काममा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ । २०७८ माघमा दुई वर्षभित्र काम सक्ने गरी यसको ठेक्का लागेको थियो । निर्माण कम्पनीलाई तेस्रो पटक थपिएको म्याद सन् २०२६ जुलाई ३० सम्म छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...